Logo

बागमती पेज

भाद्र २२, २०७९ बुधबार

कागेश्वरी मनोहराका १०० दिन : जेष्ठ नागरिकलाई चाडपर्व खर्च


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकलाई चाडपर्व मनाउने खर्च वितरण गर्ने भएको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनमा गरेका काम सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गर्ने घोषणा गरेका हुन् ।

नगरपालिकाले आगामी दसैँ अगाडि जेष्ठ नागरिकलाई चाडपर्व खर्चवापत एक हजार रुपैयाँ वितरण गर्ने जनाएको छ । नगरपालिकाले जेष्ठ नागरिकका लागि निशूल्क घरघरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ । यसबाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।

“मेयरसँग जेष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमअन्तगर्त सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि वडानम्बर–९ बाट सुरु गरिएको छ,” प्रमुख कार्कीले भने । नगरपालिकाले जेष्ठ नागरिकलाई खाजा, जेष्ठ नागरिक भवन तथा जेष्ठ नागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरेको जनाएको छ ।

यस्तै, नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बोहेरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने पनि घोषणा गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगर अस्पतालको १५ शय्याको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ ।

शिक्षतर्फ सुधारका लागि नगर शिक्षा ऐन संशोधन गरी शिक्षा ऐन २०२८ सँग मिलाएको नगरपालिकाले एक शिक्षक एक ल्ल्यापटप अभियान सञ्चालन गरेको छ ।

“अभियान अन्तर्गत २०९ शिक्षकलाई ल्यापटप वितरण गरिएको छ,” नगरप्रमुख कार्कीले भने, “सामुदायिक विद्यायको दरबन्दी अभावको समस्या समाधानका लागि नगरपालिकाले आन्तरिक स्रोतबाटै उच्च माविमा आईसीटी र खेलकुदलगायतका शिक्षक व्यवस्था गरेको छ ।”

विद्यायको दर्ता र नवीकरणवापतको शूल्कमा २५ प्रतिशत घटाएको कार्कीले बताए । सामुदायिक विद्यालयमा इसीडी कक्षा संचालनका लागि नगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक र शिक्षकहरुलाई दिवा खाजाको व्यवस्था गरेको जनाएको छ ।

यस्तै, नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिएर नगरभित्रै फोहोर व्यवस्थापनको तयारी गरेको हो । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चुनौती बनिरहेको भन्दै नगरपालिकाले नगरभित्रै फोहोर व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको जनाएको छ ।

नगरपालिकाले नगरसभाबाटै पालिकालाई खेलकुद नगरी बनाउने प्रस्ताव पारित गरेको भन्दै अब खेलविशेषका एकेडेमी निर्माणका लागि सघंीय सरकारसँग समन्वयको काम थालेको र निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ ।