Logo

बागमती पेज

भाद्र २७, २०७९ सोमबार

दोलखामा गठबन्धन भर्सेस एमाले


काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट प्रमुख दलहरुले उम्मेदवार सिफारिस गरिसकेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यहाँ सत्तारुढ गठबन्धनबाट कुन दलले उम्मेदवारी दिने भन्ने प्रस्ट भइसकेको छैन ।

दोलखामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र गरी मुख्य तीन राजनीतिक दलको प्रभाव देखिन्छ । विगतका निर्वाचनलाई आधार मान्ने हो भने यहाँ एमालेको प्रभाव तुलनात्मक रुपमा बढी देखिन्छ । तर गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसको दबदबा रह्यो ।

२०४८ पछिको निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभातर्फ एमालेले ४ पटक चुनाव जितेको छ भने कांग्रेसले १ र माओवादी केन्द्रले १ पटक चुनाव जितेको छ । दोलखाबाट एमालेले २०४८, २०५६, २०७० र २०७४ मा चुनाव जितेको थियो भने कांग्रेसले २०५१ र माओवादी केन्द्रले २०६४ मा चुनाव जितेको थियो ।

आगामी निर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले संघ र प्रदेशसभामा उम्मेदवारीका लागि नाम सिफारिस गरिसकेका छन् । कांग्रेसले दोलखाबाट प्रत्यक्षतर्फ संघमा चुनाव लड्न पार्टीका केन्द्रीय सदस्यहरु जिपछिरिङ लामा, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी जिल्ला सभापति बर्मा लामा, पूर्व सभापतिहरु तारा बहादुर कोइराला, उद्धव काफ्ले, रुद्र खड्का र लक्ष्मी कुमारी तामाङलाई सिफारिस गरेको छ ।

एमालेबाट संघीय निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ पूर्व मन्त्रीहरु आनन्द पोखरेल र पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खड्का, पूर्व जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिन, केन्द्रीय सम्पर्क समन्वय कमिटीको अध्यक्ष श्याम बस्नेत र पूर्व जिल्ला कमिटी सचिव भरत दुलालको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रबाट सो क्षेत्रमा संघतर्फ चुनाव लड्न पोलिटव्युरो सदस्य देवी खड्का, गंगा कार्की विश्व, विशाल खड्का, शंकर लामा, गोपाल पाण्डे र हेम श्रेष्ठलाई सिफारिस गरेको छ । एकीकृत समाजवादीले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।