Logo

बागमती पेज

आश्विन २, २०७९ आईतबार

रसुवागढी नाकामा चहलपहल बढ्यो


रसुवा : रसुवागढी नाकाबाट चिनिया सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरूङ क्षेत्रमा चीनले बन्द गरेको नाका पुनः सञ्चालन भएसँगै चहलपहल बढाएको हो ।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनिया मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताए। गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनिया कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनर मात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ ।

बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग अवरूद्ध भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौ‌ं पठाएको बताए। भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ । अर्कोतर्फ समस्या पर्दा २१६ मेगावाट अपर त्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौं पठाइएकोे छ।

गत साउन २४ गते रातिको वर्षाले क्षतिग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङल्हामु मार्ग भने छिटो छरितो पुनःनिर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। ग्यावियन जाली भर्ने काम ८५ प्रतिशत पूरा भएको प्राविधिकले जानकारी दिएका छन् । सडक सतहमा माटो भर्ने, रोलरले माटो थिच्ने र ढुङ्गा सोलिङ गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ।

बनुवा घुम्तीको पासाङल्हामु मार्ग बन्द भएपश्चात् उत्तरी रसुवाको विकास निर्माणका कार्य ठप्प हुनुका साथै उपकरण ढुवानी गर्न नपाउँदा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासमेत प्रभावित भएको थियो। रासस