Logo

बागमती पेज

आश्विन ११, २०७९ मंगलबार

चितवनको वीपी कोइराला क्यान्सर अस्पतालमा ७० जिल्लाका बिरामी


चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशका कूल ७७ जिल्लामध्ये ७० जिल्लाका बिरामीले सेवा लिएको पाइएको छ ।

अस्पतालले २३ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको विवरणमा ७० जिल्लाका बिरामी अस्पतालमा आएर उपचार गरेको देखिएको छ ।

गत वर्ष अस्पतालमा आएर उपचार सेवा लिएका १ लाख ६४ हजार ५ सय ९५ जनामध्ये सबैभन्दा बढी चितवनका २३ हजार ४ सय २४ जना छन् । चितवन पछि रुपन्देहीका ९ हजार २ सय ७७, नवलपुरका ६ हजार ८ सय ८८ र धनुषाका ५ हजार १ सय ६९ जना छन् ।

अस्पतालको ओपीडी सेवा लिएका मध्ये १ लाख ६२ हजार ६ सय २२ जना नेपालका र १ हजार ९ सय ७३ जना भारतबाट आएर सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले जानकारी दिए ।

अस्पतालको ओपीडीमा आएका मध्ये ६ हजार ६३ जना नयाँ क्यान्सरका बिरामी थपिएका छन् । तीमध्ये पुरुष २ हजार ७ सय २ जना र महिला ३ हजार ३ सय ६१ जना छन् ।

अस्पतालमा गत वर्ष ९ हजार २ सय ४९ जना बिरामी भर्ना भएर उपचार लिएका थिए भने ३ हजार ९ सय ७५ जनाको मेजर अप्रेशन गरिएको कार्यकारी निर्देशक डा. गौतमले बताए । अस्पतालमा औसत दैनिक ३० वटा अप्रेशन हुने गरेको उनको भनाइ छ ।