Logo

बागमती पेज

आश्विन २६, २०७९ बुधबार

झरना थापाको फिल्म ‘भगवत् गीता’ विरुद्ध बोर्डमा उजुरी


झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ विरुद्ध उजुरी परेको छ। फिल्मको नामलाई लिएर हिन्दु जागरण नेपालले चलचित्र विकास बोर्डमा उजुरी हालेको हो।

बुधबार बोर्डमा बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद्भागवद गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित रहेको बताइएको छ।

‘झरना थापाज्युले भगवत् गीता नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ। यस्ता दुष्कृत्यलाई दोहो‌‌‌र्‍याउन खोजेको स्पष्ट देखिन्छ। त्यसैले यदि श्रीमद्भागवदको पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरी फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस्। साथै कुनै पनि फिल्म निर्माण तथा प्रसारणको अवस्था खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरी कथावस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरी मात्र निर्माण तथा प्रसारणको अनुमति दिनहुन अनुरोध गर्दछौं,’ उजुरी पत्रमा उल्लेख गरिएको छ।

उक्त पत्रमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायको हस्ताक्षर रहेको छ।

झरना थापाको फिल्म ‘भगवत् गीता’ कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको थियो। फिल्ममा झरनाको छोरी सुहाना थापाको मुख्य भूमिका रहनेछ भने अभिनेताको टुंगो लागेको छैन।

सुनिल कुमार थापाले निर्माण गर्ने फिल्म आउँदो वर्षको वैशाख १ गते प्रदर्शन हुनेछ।