Logo

मेघनाथ पहाडी

कार्तिक १४, २०७९ सोमबार

सडक बिनाको विकास सम्भव छैन : पूर्वमन्त्री बस्नेत


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सडक बिनाको विकास सम्भव नहुने बताएका छन् । गाउँ क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सडक विस्तार गर्न आवश्यक रहेको उनले बताए ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन समितिको भेलामा पूर्वमन्त्री बस्नेतले विकासका काममा सहरभन्दा गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा जिल्लाका हरेक गाउँमा सडक सञ्जालको निर्माण गर्न लागिपर्ने बताए ।

उनले भने, ‘आसन्न निर्वाचन नजिकिएसँगै हाल सिन्धुको माहोल गठबन्धनमय बनेको छ । विगतमा क्षेत्र नं २ मा निर्वाचित सांसदले गरेको कामभन्दा अहिले पनि मैले धेरै र महत्वपूर्ण काम गरेको छु । निर्वाचित भएपश्चात सिन्धुको विकासका काममा तीव्रता दिनेछु ।’

विगतमा सिन्धुपाल्चोकमा आफूले आपतविपद्का समयमा गरेको सहयोगको स्मरण गर्दै पूर्वमन्त्री बस्नेतले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।