Logo

बागमती पेज

कार्तिक १७, २०७९ बिहीबार

जनयुद्धका नेता उम्मेदवार बनेर गाउँ पुग्दा सहिदकी आमाको थामिएन आँशु


काठमाडौँ । दोलखामा यतिखेर फेसबुक तथा सामाजिक सञ्जाल युट्युव लगायतमा एउटा भिडियो भाइरल भईरहेको छ ।

जनयुद्धमा सहिद भएका थामी समुदायका एक सहिदकी आमाले दोलखा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता गंगा कार्कीसँग अङ्कमाल गर्दै रोएको भिडियो भाइरल भएको हो । सो भिडियोमा जनयुद्धका नेता गंगा कार्की उम्मेदवार बनेर गाउँ पुगेपछि सहिदकी आमा आफ्नो छोरालाई सम्झिएर भावूक हुँदै रोएकि छिन् भने उम्मेदवार कार्कीले पनि आँशु झार्दै सहिदकी आमालाई अङ्कमाल गरेका छन् ।

‘सहिदकी आमाले गंगालाई अङ्कमाल गरेर रुँदै भनेकि छिन्, ‘मेरो छोराको साथि त आयो । उसलाई पनि सँगै लिएर आउनु नि बाबु ।’

जनयुद्धमा सहिद भएका विगु गाउँपालिका ६ आलम्पुका मान बहादुर थामी (गम्भिर) की आमा सेतीमाया थामी आलम्पुमा गठबन्धनले आयोजना गरेको चुनावी सभामा यसरी भावव्हिल भएकी हुन् ।

करिव ८० बर्षकी सेतीमायाले २०५८ साल मंसिर १० मा जनयुद्धका बेला आफ्ना छोरा मान बहादुरलाई गुमाएकी थिइन् । मानवहादुरको सोलुखुम्वुको सदरमुकाम सल्लेरीमा भएको भिडन्तमा मृत्यु भएको थियो ।

दोलखामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर बनेको संयुक्त गठबन्धन यतिखेर घरदैलो तथा कोणसभा अभियानमा छन् । सो क्रममा गठबन्धन दलका नेता, कार्यकर्ता र उम्मेदवार हाल विगु गाउँपालिकामा चुनावी प्रचार, भेटघाट तथा कोणसभामा व्यस्त छन् ।

२०४२ सालदेखि राजनीतिमा सक्रिय रहेका गंगा कार्की सहित माओवादीका ५ जना नेताहरु जनयुद्ध सुरु हुनु अघिनै भूमिगत भएका थिए । त्यसपछि जनयुद्धमा दोलखाका धेरै युवायुवती भूमिगत हुने लाम लागेको थियो । जनयुद्धमा दोलखाका १ सय १ जनाको बलिदानी भएको थियो । ती मध्ये मानवहादुर सहित ३१ जना थामी समुदायवाट सहिद भएका थिए । विद्यार्थी राजनीतिबाट जनमुक्ति सेनामा गएका उनी सोलुखुम्बुको सल्लेरीमा भएको भिडन्तमा सहिद भएका थिए । सल्लेरी घटनामै विगु गाउँपालिकाका बासु थामी र कुमार थामी पनि सहिद भएका थिए ।