Logo

बागमती पेज

कार्तिक २५, २०७९ शुक्रबार

प्रकाशमानलाई स्वतन्त्र उम्मेदवार लिम्बुले गरे समर्थन


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बुले समर्थन गरेका छन् ।

उनले शुक्रबार एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय गरेको बताए ।

कार्यक्रममा उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर १ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर १ लाई आवश्यक भएको उम्मेदवार चाहिँ प्रकाशमान सिंह नै भन्ने निष्कर्ष निकालें ।’

उनले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताए । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो प्रकाशमानकै कारण भएको निष्कर्ष समेत उनले सुनाए ।

यसअघि लोसपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रदेश सभा १ का उम्मेदवार रणविर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका थिए ।