Logo

बागमती पेज

कार्तिक २८, २०७९ सोमबार

एमालेको किल्ला तोड्दै अबको नेतृत्व हामीले लिनेछौं : उम्मेदवार पहाडी


काठमाडौँ । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाम लोकतान्त्रिक गठबन्धन प्रदेशसभा (ख) का उम्मेदवार रामकुमार पहाडीले एमालेको २५ वर्षे इतिहासलाई मेटाउने दावी गरेका छन् ।

घरदैलो अभियानमा फिक्कल गाउँपालिका वडा नं ६ मा पुगेका पहाडीले आगामी निर्वाचनमा गठबन्धनले एमालेको किल्ला तोड्ने बताएका हुन् । उनले विगत ३ दशकमा एमालेले गर्न नसकेका काम यस गठबन्धनले ५ वर्ष भित्र पुरा गर्ने दावी गरे ।

उम्मेदवार पहाडीले बागमती पेजसँग कुरा गर्दै घरदैलो अभियानमा सहभागी हुँदा जनताले उत्साहजनक ढंगले आफुलाई रुचाएकाले जनताको हौसल्ला, उत्साह र विश्वासले नै चुनाव जित्ने लक्षण देखिएको बताए ।

यो निर्वाचन क्षेत्रमा २५ वर्षदेखी एमालेको नेतृत्व रहँदा जनताको हितका लागि उपलब्धिमूलक खासै काम नभएको भन्दै पहाडीले जनता एमालेबाट दिक्क भइसकेको दावी गरे । उम्मेदवार पहाडीले सिन्धुली जिल्लाको सबैभन्दा अग्लो डाँडो फिक्कललाई यस क्षेत्रबाट निर्वाचित विगतमा मन्त्री भएका भनौदाहरुले केही गर्न नसकेको आरोप समेत लगाए ।

उनले भने, “जनता सिन्धुली परिवर्तन भएको हेर्न चाहान्छन् । हिजोका दिनमा एमालेमा मतदान गर्नेले पनि यो पटक एमालेबाट कुनै अपेक्षा नराखी गठबन्धनमा सामेल हुनुभएको छ । यसकारण पनि हामीले चुनाव जित्ने निश्चित छ । निर्वाचन पश्चात जनताले विश्वास गरेर दिएको अमुल्य मतलाई कदर गर्दै सिन्धुलीको समुन्नत विकासमा लाग्नेछु ।”

चुनाव आउन केहिदिन बाँकी रहँदा सिन्धुलीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त देखिएका छन् । सिन्धुली यस क्षेत्रको इतिहासमा नेकपा एमालले चुनाव जित्दै आइरहेको छ । तर गठबन्धनका नेताहरुले भने नेकपा एमालेले अहिलेसम्म देखिने गरी कुनैपनि काम नगरेको र सिन्धुलीमा ठोस उपलब्धि नभएको आरोप लगाउँदै आइरहेका छन् ।

निर्वाचन नजिकिएसँगै घरदैलो अभियानलाई तिब्रता दिएका नेता पहाडीले सडकको स्तर उन्नती गर्ने, पर्यटन क्षेत्रलाई समुन्नत बनाउने, शिक्षा, स्वास्थ्य तथा रोजगारका क्षेत्र लगाएत सिन्धुलीको दिगो विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।