Logo

बागमती पेज

मंसिर ४, २०७९ आईतबार

मतगणना सुरु अघि के-के छन् प्रक्रिया ?


काठमाडौं । आइतबार देशभर एकैसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरुमा आज रातिदेखि नै मत गणना कार्य शुरु गरिने बताए ।

मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै रातिदेखि नै मतगणना कार्य प्रारम्भ गर्नेगरी तयारी भएको उनको भनाइ छ । हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलिदेखि हुने अपेक्षा गरिएको छ ।

यस्तो हुन्छ गणनाअघिको प्रक्रिया :-
मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइन्छ । जुन ठाउँमा उम्मेदवारको मनोनयन गरेको हो सोही कार्यालयमा मतगणना हुने निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।

उनले भने, ‘मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुन्छ । सबै मतदानस्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्छ र मतगणनाको काम सुरु हुन्छ । मतगणना कार्यमा उम्मेदवारका प्रतिनिधि बस्न पाउने व्यवस्था हुन्छ । मतगणना निर्देशिकामा तोकेका व्यक्तिहरू मतगणनास्थलमा बस्न पाउने व्यवस्था हुन्छ । निर्वाचन पर्यवेक्षकहरुलाई पनि अलि टाढाबाट मतगणना हेर्न पाउने व्यवस्था हुन्छ ।’

मतगणना गर्दा सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैको एकैपटक गरिने उनले बताए । यदि ठाउँ र कर्मचारीको अभाव भएमा सबैभन्दा पहिला प्रत्यक्ष तर्फको मतगणना गर्ने र त्यसपछि समानुपातिक तर्फको मतगणना गरिनेछ ।

उनले भने, ‘सम्भव भएसम्म सबै मतपत्र एकैपटक गन्नु भन्ने छ यदि सम्भव नभएमा सुरुमा प्रत्यक्ष तर्फको र त्यसपछि समानुपातिक तर्फको मतगणना गर्नु भनेर आयोगबाट निर्देशन भएको छ । मतगणनाको सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारलाई पहिलो प्राथमिकता दिनु भनिएको छ ।’ जनशक्तिको उपलब्धता अनुसार विभिन्न टोली बनाएर छिटो मतगणना सम्पन्न गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।