Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

मतगणना सुरु गर्न माग गर्दै दोलखामा गठबन्धन दलका कार्यकर्ताको प्रदर्शन


काठमाडौं । दोलखामा मतगणनामा ढिलाई भएपछि गठबन्धनक कार्यकर्ताले मतगणनास्थल बाहिर नारावाजी गरेका छन् ।

गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरुले मतगणनामा ढिलासुस्ति गरेको भन्दै चरिकोटस्थित गौरीशंकर बुहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

नेकपा एमालेले जिल्लाका ५ वटा मतदान केन्द्रमा गठबन्धनले बुथ कव्जा गरेको भन्दै पुनः निर्वाचनको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो उजुरी दर्ता गरेको थियो ।

सो उजुरीलाई हिजै निर्वाचन आयोगमा पठाए पनि अहिलेसम्म आयोगवाट कुनै निर्णय आएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सहमतिकालागि सर्वदलीय बैठक बोलाए पनि एमालेले निर्वाचन आयोगको निर्णय विना मतगणना गर्न नहुने अडान लिएपछि वैठक विना निश्कर्ष टुँगिएको थियो । तामाकोशीको जफे, वैतेस्वरको गैरीमुदी र नाम्दु, मेलुङको भेडपु तथा गौरीशंकरको जुँगु मतदान केन्द्रको निर्वाचन रद्ध गरी पुनः मतदान गर्न एमालेले माग गरेको छ ।

गठबन्धनका दलहरुले भने जिल्लामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएपनि हार निश्चित भएपछि एमालेले बुथ कव्जाको आरोप लगाएको दावी गरेको छ ।