Logo

बागमती पेज

मंसिर ९, २०७९ शुक्रबार

क्षेत्र फेरेका बस्नेतले हराए शेरबहादुरलाई, एमाले ‘प्रतिष्ठाको क्षेत्र’मै पराजित


काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । दुईपटकसम्म प्रतिनिधि सभाको चुनाव जितेका एमाले उम्मेदवार शेरबहादुर तामाङलाई हराउँदै बस्नेतले चुनाव जितेका हुन् ।

शुक्रबार विहान सकिएको मतगणना अनुसार बस्नेतले तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै ल्याउन सके । यो क्षेत्रलाई चुनावअघिदेखि नै एमालेले आफ्नो प्रतिष्ठाको क्षेत्र मानेको थियो । तर एमालेले प्रतिष्ठाको क्षेत्र मानेको ठाउँमा नै ऊ पराजित भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले २ हजार ४ सय ५२ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले २ हजार ८ सय १९ मत ल्याए । सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए ।

सिन्धुपाल्चोकको राजनीतिमा कांग्रेस र माओवादीको सम्बन्ध हार्दिक छैन । स्थानीय चुनावमा पनि माओवादीले देशभर कांग्रेससँग तालेमल गर्दा सिन्धुपाल्चोकमा हुन सकेन । त्यसको कारक बस्नेत मानिन्छन् । तर बस्नेतले माओवादीको गठबन्धनबाटै यसपालि चुनाव जिते । यो पटक पनि बस्नेत गठबन्धनको विपक्षमै थिए । त्यसैले उनले माओवादीको सबै भोट पाउनेमा आशंका थियो। उनका लागि ठूलो चुनौती यही नै थियो । तर उनले माओवादीको समेत भोट ल्याएर भारी मतान्तरले तामाङलाई हराए ।

एमालेका उम्मेदवार तामाङको यो आफ्नै क्षेत्र हो । २०७४ मा पनि उनी वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा सिन्धुपाल्चोक–२ बाटै विजयी भएका थिए । साथै, लामो समय माओवादीबाट राजनीति गरेका र हालै मात्र एमाले प्रवेश गरेका चौतारा साँगागढीका अमान सिंह तामाङलाई सिन्धुपाल्चोक २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाएका थिए । तर यी सबै राजनीतिले काम गरेन ।