Logo

बागमती पेज

मंसिर ९, २०७९ शुक्रबार

आयोगको निर्णय आउन ढिलाई, के हो दोलखाको समस्या ?


काठमाडौँ । दोलखामा नेकपा एमालेका उम्मेदवारले निर्वाचनमा धाँधली भएको र सत्ता गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मत हालेको आरोपसहित आयोगमा उजुरी दिएपछि मतगणना सुरू हुन सकेको छैन । एमालेले पुनः मतदान हुनुपर्ने माग राखेको छ । तर सत्ता गठबन्धनका उम्मेदवारहरू भने मतगणनाको माग गर्दै धर्नामा बसेका छन् ।

उजुरीमाथि छानबिन गर्न आयोगले बुधबार मात्र सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको तीन सदस्यीय टोली दोलखा पठाएको थियो । उक्त टोलीले समस्या समाधान गर्न नसकेपछि अध्ययन प्रतिवेदन बनाएर काठमाडौं फर्किएको छ । त्यस विषयमा केही दिनभित्रै निर्णय हुने प्रमुख आयुक्त दिनेश थपलियाको भनाइ छ ।

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की उम्मेदवार छन् भने एमालेबाट बालकृष्ण शिवाकोटी उम्मेदवार छन् ।

जिल्लाका ५ वटा मतदान स्थलमा बुथ कब्जा गरेको भन्दै एमाले उम्मेदवार शिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा उजुरी दिएका थिए । एमालेले जिल्लाको वैतेश्वर, तामाकोशी, मेलुङ र शैलुङ गाउँपालिका अन्तर्गत विभिन्न ५ ओटा मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने माग राखेको छ ।