Logo

बागमती पेज

मंसिर २५, २०७९ आईतबार

चेक बाउन्समा कालोसूचीमा परेकी विनु कांग्रेसबाट बागमती प्रदेशको सांसद सिफारिस


काठमाडौँ । कर्जा सूचना केन्द्रले चेक बाउन्समा कालोसूचीमा राखेको एक महिलालाई नेपाली कांग्रेसले वागमती प्रदेशको समानुपतिक सांसदमा सिफारिस गरेको छ ।

चितवन भरतपुर महानगरपालिका-१० की विनु रायमाझी (पौडेल) लाई कांग्रेसले प्रदेशतर्फ समानुपातिकमा बन्दसूचीमा राखेको थियो । समानुपातिक सांसद चयन गरेर पठाउने अन्तिम दिन शनिबार कांग्रेसले उनको नाम पठाएको छ ।

विनु साझेदार रहेको बीएमआर कन्ष्ट्रक्सन एण्ड सप्लायर्सले स्थानीय रतन ठाकुरलाई ६१ लाख रूपैयाँको चेक दिएको थियो । तर, खातामा त्यति रकम नहुँदा रतनले उनलाई कालोसूचीमा राख्न २०७८ फागुन २७ गते एनसीसी बैंकमा माग गरेका थिए । उक्त कम्पनीको खातामा पर्याप्त रकम नभएपछि कर्जा सूचना केन्द्रले २०७८ फागुन ३० गते कालोसूचीमा राखेको थियो । विनुसहित उक्त कन्ष्ट्रक्सनका भरत श्रेष्ठलाई समेत कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

खातामा पर्याप्त मौज्दात नभई कुनै व्यक्ति फर्म, कम्पनी वा संगठित संस्थाले चेक जारी गरेमा वा चेक लिने व्यक्तिले चेकमा उल्लेखित विवरण सही भएको यकिन गर्नसक्ने अवस्थामा बाहेक अन्य कुनै कारणले चेक फिर्ता भएमा कालोसूचीमा राख्न सकिने बैंकिङ नियम छ ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा नै रहेको कारण यसअघि रुपन्देही २ मा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एसका राजु गुरुङको उमेदवारी खारेज भएको थियो ।

विनु केही वर्षअघि भरतपुर कारागारभित्र हत्या गरिएका कांग्रेसनिकट तरुण दलका नेता शिव पौडेलकी पत्नी हुन् ।