Logo

मेघनाथ पहाडी

पुस १, २०७९ शुक्रबार

‘नेपाली उत्पादनले बजारको माग धान्न सकेको छैन’: अध्यक्ष शाक्य


काठमाडौँ, १ पुष । नेपाल हस्तकला महासङ्का अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीले बजारको माग धान्न नसकेको बताएका छन्। उनका अनुसार विश्व बजारमा नेपाली हस्तकलाको राम्रो माग रहेकाले यहाँ उत्पादित वार्षिक रु १२ अर्बका हस्तकलाका सामग्री निर्यात हुनाका साथै नेपाली बजारमासमेत यस्ता सामग्रीको माग बढ्दो छ ।

अध्यक्ष शाक्यले भने, “हातले बनाएका सामग्रीमध्ये फेल्कबाट उत्पादित सामग्री मात्र वार्षिक रु पाँच अर्बभन्दा माथिको कारोबार हुने गरेको छ । त्यसैगरी पश्मिना, हातेकागज, काष्ठकलालगायत सामग्रीको व्यापार पनि बढी हुने गरेको छ ।”

हस्तकलाको सामान उत्पादनमा महिलाको सहभागिता ८० प्रतिशतभन्दा बढी छ । यस्ता समान बनाएरै परिवार चलाउँदै आउनुभएकी दाङकी राजकुमारी चौधरीले भने, “टोकरी, गमला, पूजादानी, चकटीलगायत सामान बनाउने गरेको छु । सुरुवाती चरणको व्यवसाय भए पनि व्यापार सन्तोषजनक हुनाका साथै घर खर्च पनि चलेको छ ।”

त्यस्तै कटनबाट उत्पादित सामग्रीको व्यापार गर्नुहुने ललितपुरकी हसना महर्जनले भने, “नेपाली उत्पादन बलियो राम्रो र सस्तो पनि हुन्छ ।”

हस्तकलाका लागि आवश्यक कच्चापदार्थ भारत, चीन, स्वीडजरल्याण्ड, दुबईलगायत देशबाट आयात हुने गरेको छ । उत्पादित यस्ता सामानको माग स्वदेशभन्दा विदेशमा राम्रो रहेको अध्यक्ष शाक्यले बताए ।

विदेशी पर्यटक घुम्न आउँदा हस्तकलाको सामान बढी खरिद गर्ने गरेको पाइन्छ । हालै सम्पन्न एक हस्तकला व्यापार मेलामा सहभागी भएकी फिनल्यान्डकी पर्यटक रुट भाराले नेपालको सामान राम्रो र गुणस्तरीय भएका कारण आफूलाई धेरै मनपर्ने बताए ।

सोही मेलमा पश्मिनाको सामान खरिद गरेकी फिनल्याण्डकी टेरी तेरिस्कोनटीले भनिन्, “हातबाट बनाइएका सामग्री भरपर्दो, सुन्दर र मूल्य पनि सन्तोषजनक हुने भएकाले स्वदेश फर्किदा पनि नेपाली सामान नै खरिद गरेर लैजान्छु ।”

हस्तकलाका सामान नेपालमै कम उत्पादन हुने भएकाले मागअनुसार निर्यात गर्न नसकिएको अध्यक्ष शाक्यको भनाइ थियो । देशमा दक्षजनशक्ति कम हुँदा स्थानीयस्तरमा उत्पादित सामग्रीसमेत खेर गइरहेको बताउँदै उनले सरकाले तालिमको व्यवस्था गरे रोजगारका लागि विदेश धाउन नपर्ने र स्वदेशी उत्पादनले नै विदेशी मुद्रा भित्रिने उल्लेख गरे । रासस