Logo

बागमती पेज

पुस ९, २०७९ शनिबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक


काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार छलफल सकिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो ।

नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे सामान्य कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा नेताहरूको समान धारणा रहेको बताइएको छ ।

‘आज सरकार गठनबारे सामान्य छलफल भएको र भोलि पुनः नेताहरू बस्ने गरी आजको छलफल सकिएको छ,’ अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ । आजको छलफल सकारात्मक रहेको बालुवाटार स्रोतको भनाइ छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपाललाई सँगै राखेर अव बन्ने नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएका छन् । त्यसक्रममा नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखेका थिए ।

बिहीबार संसदीय दलको नेता चयन भएलगत्तै तीन नेता छलफलमा जुटेका हुन् । यसअघि नै प्रचण्डले देउवालाई आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार पहिलो खेपको प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न भनिसकेका छन् । प्रचण्डको यो प्रस्तावमा देउवाले सबै दलको संसदीय दलको नेता छानेर छलफल गर्न सकिने बताएका थिए । यसअघि अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा सरकार गठनबारे आजै नेताहरूसँग छलफल गर्ने ब्रिफिङ गरेका थिए ।