Logo

बागमती पेज

पुस ९, २०७९ शनिबार

दक्षिण कोरियाबाट सिन्धुलीमा ल्याईयो ३६ वटा बाछी


सिन्धुली । दक्षिण कोरियबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साँढे आइपुगेका छन् । नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा बिहीबार ३६ वटा कोरेली बाछी र ६ वटा साँढे उपहारस्वरुप ल्याएको हो ।

उच्च गुणस्तरका कोरेली बाछी र साँढे एसियन एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा ल्याइएको हो । नेपाल ल्याउनका लागि हेफर इन्टरनेसनल नेपाल र कोरियाले सहयोग गरेका छन् । हेफर इन्टरनेसनल नेपालका सञ्चार प्रवन्धक प्रबिन गुरुङका अनुसार एउटा बाछीको मूल्य ३ हजार अमेरिकी डलर पर्छ । त्यस्तै एउटा साँढेको मूल्य २ लाख डलर पर्छ ।

“कोरियाका किसानले अनुदान/उपहार स्वरुप कुल १ सय १ वटा बाछी र २० वटा साँढे दिएका छन् । पहिलो लट अनुसार बिहीबार ४२ वटा आइपुगेका छन्” उनले भने, “अरु बाछी र साँढेहरु पनि क्रमिक रुपमा आउनेछन् ।’

नेपाल ल्याइएका ती बाछी र साँढे क्वारेन्टाइनका लागि कृषि अनुसन्धान परिषद (नार्क)मा राखिनेछ । त्यसपश्चात सिन्धुलीको कमलामाई नगरपालिकाको किसानलाई हस्तान्तरण गरिने जनाइएको छ । ‘८१ वटा बाछी किसानलाई वितरण गर्छौं, बाँकी २० वटा बाछी र २० वटा साँढे सरकारलाई हस्तान्तरण गर्नेछौं” उनले भने ।

गत मंगलबार कमलामाई नगरपालिकाको प्रमुख उपेन्द्र कुमार पोखरेल र कृषि तथा पशुपंछि विकास मन्त्रालयका सचिव दिपककुमार खरेलबिच कोरिया सरकारले दिएको होलस्टिन जातको बाँछि कमलामाई नगरपालिकाको किसानलाई दिने निर्णय भएको थियो । उक्त ८१ वटा बाँछि कमलामाई नगरको ५ नम्बर वडाका किसानलाई वितरण गरिने मेयर पोखरेलले बताए । उक्त गाईको पालनपोषणकालागि व्यवस्थित गोठ निर्माण भइसकेको पनि मेयर पोखरेलले जानकारी दिए ।