Logo

भवानी कार्की

फाल्गुन १४, २०७९ आईतबार

दोलखामा हिमपात, होटेल व्यवसायी हर्षित


काठमाडौँ । दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक लगायत आसपासका क्षेत्रमा हिमपात भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा आइतबार दिउँसो देखिनै हिउँ परिरहेको हो ।

जिल्लाका उचाइ भेगहरू खरीढुंगा, शैलुङ लगायतका ठाउँमा पनि हिमपात भइरहेको छ । दोलखामा मनसुन सकिएपछिको पहिलो झरी र हिमपात हो ।

वर्षेनी हिमपातका कारण हजारौँ संख्यामा पर्यटकहरु कालिञ्चोक पुग्ने गर्दथे । यस वर्ष विगतका ३ महिना सुख्खा याममै बितेका कारण होटेल व्यवसायी निराश थिए । तर वर्षा र हिमपात भएसँगै होटेल व्यवसायी तथा किसान हर्षित भएका छन् । 

कोरोनाको महामारी पश्चात् लयमा नआएको दोलखाको पर्यटन क्षेत्र यो वर्ष पनि समयमा झरी र हिमपात नहुँदा व्यवसाय ठप्प नै भएको होटेल व्यवसायीहरूले जनाए । दोलखामा आर्थिक चहलपहल भित्र्याउन तथा पर्यटकलाई लक्षित गरी दोलखा महोत्सवको तयारी भइरहेको समयमा हिमपातले झनै आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सक्ने अनुमान गरिएको छ ।

५० हजार पर्यटक भित्र्याउने तयारी गरेको महोत्सवले केही दिन हिमपात र वर्षा भए दोलखामा अझ पर्यटक आउन सक्ने आयोजक टिमले बताएको छ ।

दोलखामा कालिञ्चोक मात्र नभएर शैलुङ, खरिढुंगा लगायत अन्य हिमाली क्षेत्रमा यती बेला वर्षासँगै हिमपात भइरहेको छ भने मौसम पनि चिसिएको छ ।