Logo

भवानी कार्की

फाल्गुन २०, २०७९ शनिबार

शंखरापुर नगरपालिकाले लगानी सम्मेलन गर्ने, पूर्व तयारी सुरु


काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले समग्र विकास तथा आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको पूर्व तयारी थालेको छ ।

नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, पर्यटकीय, कृषि लगायत विभिन्न पक्षको विकासका लागि आगामी दिनमा लगानी सम्मेलन गर्ने योजना स्वरुपसर्वपक्षीय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । नगरपालिकाले गरेको कार्यक्रममा लगानी सम्मेलनको पूर्व तयारी र विगतको ५ बर्षमा स्थानीय तहहरुले गरेका अशल अभ्यासका बारेमा पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले प्रस्तुतिकरण गरेका छन् ।

शंखरापुर नगरपालिकामा भौगोलिक, सामाजिक, कृषि, पर्यटकीय पक्ष, धार्मिक सांस्कृतिक पक्षहरुमा के–के गर्न सकिन्छ भनेर अध्ययनका लागि लगानी सम्मेलनको पूर्व तयारी स्वरुप अन्र्तक्रिया कार्यक्रम गरिएको नगरप्रमुख रमेश नापितले बताए ।

नगरप्रमुख नापितले भने, ‘शंखरापुरबासीलाई आर्थिक रुपमा सक्षम बनाउन यहाँ के–के सम्भाव्यता हुनसक्छ भनेर छलफल गर्न, सम्भावनाको खोजी गर्न, कुन कुन क्षेत्रमा कसरी लगानी भित्राउन सकिन्छ, कृषि, पशुपालन, पर्यटनका क्षेत्रमा के के गर्न सकिन्छ भन्ने उदेश्यले छलफललाई अघि बढाएका छौँ । पहिलो चरणमा छलफल, अध्ययन तथा सल्लाह सुझाव लिएर लगानी सम्मेलन गर्ने तयारीमा छौँ ।’

शंखरापुर नगरपालिकालाई आर्थिक हिसावले कसरी समृद्ध बनाउन सकिन्छ, कसरी रोजगारीका सम्भावनाहरुको ढोका खोल्न सकिन्छ ? आर्थिक प्रगतिका सम्भावना र स्रोतहरु के–के छन् त्यसको खोजी गर्ने हिसावले लगानी सम्मेलनबारे अन्तरक्रिया कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत खनालले लगानीको उपयुक्त वातावरण र नीतिहरु तर्जुमा गरेर स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको जानकारी गराउँदै सुरुवाती चरणमा पूर्व तयारी स्वरुप अन्र्तक्रिया गर्दै जाने र आगामी ६ महिनादेखि १ वर्षभित्रमा लगानी सम्मेलन गर्न सके नगरपालिकाको आर्थिक सामाजिक विकासमा कोशेढुङ्गा सावित हुने उल्लेख गरे ।