Logo

भवानी कार्की

फाल्गुन २३, २०७९ मंगलबार

शैलुङमा मिनी ग्रेटवालको काममा तीव्रता, ७० प्रतिशत काम सम्पन्न


काठमाडौँ । दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा पर्यटन प्रवर्द्धन गर्न  मिनी ग्रेट वाल निर्माण कार्य भइरहेको छ ।  दोलखाको शैलुङ गाउँपालिका–८ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ बेसक्याम्प मानिने कालापानीदेखि शैलुङ डाँडासम्म मिनी ग्रेटवाल निर्माण भइरहेको हो । 

पालिका अध्यक्ष रिमलबाबु श्रेष्ठका अनुसार मिनी ग्रेट वालको काम ७० प्रतिशत पूरा भइसकेको छ । यसको समय अवधि वैशाख मसान्त सम्म हो । चिसोको कारण केही महिना काम रोकीएपनि अहिले निर्माणको कार्यमा निरन्तरता छ । नयाँ वर्षसम्म ग्रेटवालको काम पूरा गर्ने छौँ । 

शैलुङ मिनीग्रेट वाल निर्माणको लागत ४ करोड ९४ लाख रहेको प्रमुख प्रशासकीय अधिकृत चुन बहादुर तामाङले बागमती पेजलाई जानकारी दिए । उनका अनुसार सोबर्ण निर्माण सेवासँग सम्झौता भई कार्य भइरहेको छ । 

शैलुङको आकर्षण बढाउन र पर्यटन क्षेत्रलाई गतिमा ल्याउनको निमित्त अन्य कार्यहरू र शैलुङ सम्म पुग्ने भौतिक पूर्वाधार कार्यमा पालिकाले जोड दिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले जानकारी दिए । 

दोलखाको शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाको सिमानामा पर्ने शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । तर भौतिक पूर्वाधार प्रगति हुन नसक्दा पर्यटन व्यवसाय खस्केको भए पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षक बढाउनका निमित्त पालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दे आएको छ ।

हाल पालिकाले पर्यटन पूर्वाधारमा जोड दिँदै मिनी ग्रेट वाल सँगै, पर्यटकलाई सुविधा उपलब्ध गराउन गोलघर निर्माण गरिरहेको छ, भने शैलङ पुग्ने सडकको कामलाई विशेष जोड दिएको पालिकाले बताएको छ  । 

सय टाकुरा रहेको शैलुङमा हिउँ पर्ने मौसममा र अन्य अनुकूल मौसममा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पर्यटकलाई लक्षित गरी शैलुङ गाउँपालिकाले शैलुङ विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पूर्वाधार विकासको काम गरिरहेको शैलुङ गाउँपालिकाले जनाएको छ ।