Logo

भवानी कार्की

चैत्र १, २०७९ बुधबार

दोलखा महोत्सवमा ४ करोड आर्थिक कारोबार


काठमाडौँ । दोलखाको चरिकोटमा १० दिनसम्म सञ्चालन गरिएको महोत्सव सम्पन्न भएको छ । पर्यटन प्रर्वद्धन तथा आर्थिक चहलपहल बढाउन दोलखा चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सव भव्यताका साथ सम्पन्न गरिएको हो ।

फागुन १९ देखि २८ गते १० दिन सम्म संचालन गरिएको महोत्सव अवधिमा ४ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजक टिमले जनाएको छ ।

दोलखा चेम्वर अफ कमर्सका उपाध्यक्ष रुद्र जंग बुढाथोकिका अनुसार १० दिनको अवधिमा करिब ४० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गरेका थिए ।

उनले भने, दोलखाको आर्थिक गतिविधीलाई चहल पहल बढाउनका निमित्त यस महोत्सवको आयोजना गरेका थियौँ । महोत्सव सफलता पुर्वक सम्पन्न पनि भइसकेको छ । हामीले अपेक्षा गरे अनुसार स्थानीय उत्पादन भने कम प्रदर्शन भएको देखियो । तर पनि जति प्रदर्शन भयो राम्रो आम्दानी गरेको छ भन्नेमा विश्वस्त छौँ ।

त्यस्तै यस महोत्सवमा भएका कमी कमजोरीलाई मध्यनजर गर्दे आगामी दिनमा थप कारोबार गर्ने गरी कार्यक्रमको आयोजना गर्ने समेत बुढाथोकीले बागमती पेजलाई जनाए।

भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरका अनुसार भुकम्प र कोरोनाको प्रभावले दोलखा पनि अछुतो रहन नसकेको भन्दै यस महोत्सवले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्न सहयोग गरेको बताए ।

महोत्सव समापन समारोहमा बोल्दै नगर प्रमुख मान्धरले भने, स्थानीय सरकार एउटा अविभावक भएको नाताले भीमेश्वर नगरपालिका लगायत दोलखा जिल्लाको आर्थिक क्षेत्रलाई समृद्धीको बाटोमा सहज ढंगले अगाडी लैजाने सकारात्मक सोच राखेका छौ ।

त्यस्तै आगामी दिनमा उद्योग वाणिज्य वा चेम्बर अफ कमर्ससँग सहकार्य गर्दे थप कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता समेत नगर प्रमुख मानन्धरले जनाए ।

दोलखा चेम्वर अफ कमर्सका सल्लहकार मदन दास श्रेष्ठले विगतका महोत्सव भन्दा यस महोत्सवले थप सफलता हासिल गरेको बताए । महोत्सव अवधिभर सबै राजनीतिक दलहरुले महोत्सव सफल बनाउन सहयोग गरेको बागमती पेजलाई जनकारी दिए । महोत्सवले दोलखाका स्थानीय उत्पादनलाई मात्र नभएर स्थानीय कलाकार लगायत अन्य कलाकारहरुलाई समेत प्रोत्साहन गरेको उनको भनाई छ ।

सफलतापुर्वक महोत्सव सम्पन्न गरेको भन्दै नेकपा माओवादी केन्द्र दोलखाले चेम्वर अफ कमर्स परिवारलाई सम्मान समेत गरको थियो । त्यस्तै दोलखा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने संघ संस्था, भीमेश्वर नगरपालिका, प्रहरी प्रसाशन, सञ्चार माध्यम लागयत सम्पुर्ण सहयोग दाताहरुलाई चेम्बर अफ कमर्सले सम्मान पत्र वितरण गरेको थियो ।