Logo

भवानी कार्की

चैत्र ५, २०७९ आईतबार

अत्याधुनिक मेशिनद्वारा फोहोर व्यवस्थापन गर्दै भीमेश्वर नगरपालिका


काठमाडौँ । भीमेश्वर नगरपालिकाले नगरको फोहोर व्यवस्थापन गर्न आधुनिक फोहोर मेसिन सञ्चालनमा ल्याएको छ । नगरलाई स्वच्छ तथा सफा राख्नका लागि नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने अत्यधुनिक सेग्रिगेसन मेसिन र कम्प्याक्टर मेशिन जडान गरेको हो ।

उक्त मेसिनले कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गर्ने छ । भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरका अनुसार, भारतको गुजरातबाट मेसिन ल्याईएको हो । यस मेसिनले छुट्टा छुट्टै किसिमको काम गर्छ । सेग्रिगेसन मेसिनले प्रयोगमा आउने फोहोर र प्रयोगमा नआउने फोहोर छुट्याउने काम गर्छ । कम्प्याक्टर मेसिनले प्लास्टिकका भाडा, झोला जन्य फोहोरलाई खादेँर आकार घटाउने काम गर्दछ ।

नगरप्रमुख मानन्धरले भने, फोहोर सेग्रिगेसन गर्ने र कम्प्याक्टर मेशिन जडान गरेर भीमेश्वरलाई स्वच्छ वातावरण बनाउने हाम्रो प्रयास हो । यस मेसीनले वातावरण सफा मात्र नभएर दुर्गन्धीत हुनबाट पनि जोगाउने छ । साथै यस मेसिनबाट व्यापारीदेखी लिएर ढुवानीकर्ता लगायत सामान खपत गर्नेलाई समेत फाइदा पुग्नेछ ।

त्यस्तै यस मेसिनले अनावश्यक सामनको समेत राम्रोसँग व्यवस्थापन गर्ने नगरपालिकाले बताएको छ । हाल यस मेसिनलाई नगरपालिकाको वडा नं ६ मा राखिएको छ । लामो समयसम्म प्रयोग गर्न सकिने यस मेसिन आवश्यक अनुसार जो कोहीले पनि प्रयोग गर्न सकिने नगरप्रमुख मानन्धरले बागमती पेजलाई जानकारी दिए ।