Logo

भवानी कार्की

चैत्र ७, २०७९ मंगलबार

टुँडिखेल भित्र घोडेजात्रा, बाहिर जनता अलपत्र


काठमाडौँ । आज घोडे जात्रा विशेष गरी काठमाडौँ उपत्यकामा मनाइने घोडे जात्रा हेर्न विभिन्न स्थानबाट दर्शकहरू उपस्थित भएका थिए । टुँडिखेल भित्र धूमधामको जात्रा चलिरहँदा यता दर्शकहरू भने बारमा झुन्डिएर जात्रा हेरिरहेको दृश्य अनौठो देखिएको थियो ।

सुरक्षा व्यवस्थामा कडाइ देखिएको टुँडिखेल परिसरमा जात्रा हेर्न आएका कतिपयले जात्रा हेर्न नपाएको गुनासो सञ्चारकर्मीसँग गरेका छन् । सत्तामा पुगेका ठुला ठालाहरुका लागि मात्र पहुँच रहेको उनीहरूको गुनासो छ  ।

जात्रा हेर्नकै लागि नुवाकोट देखी आएका जीवन महर्जन भन्छन् , क्रिकेट हेर्न रुखमा चढेको भन्दा पनि गाह्रो भयो जात्रा हेर्नलाई व्यवस्थापन गरेर सबैले हेर्न मिल्ने बनाइदिएको भए राम्रो हुन्थ्यो ।

उनले थपे, हाम्रो देशमा मात्र मनाइने घोडे जात्रा विश्वमै नभएको कला संस्कृति हो तर विडम्बना हामी नेपाली नै हेर्न पाउँदैनौ । धेरैले ज्यान जोखिममा राखेर झुन्डिएर हेरिराख्नु भएको छ ।

त्यस्तै जात्रा हेर्न आएका श्याम केसी भन्छन्, अघिल्लो वर्षहरूमा केही हदसम्म हेर्न पाइन्थ्यो यो साल जात्रा हेर्न धेरै दुख भयो । हामी घोडे जात्रा हेर्न आएको हो मान्छेको जात्रा होइन । भित्र घोडा जात्रा चलिरहेको छ यता मान्छेको जात्रा छ । सबैतिर पाल टाँगेर हेर्न नमिल्ने बनाएको छ । थोरै व्यवस्थित गरिदिएको भए सबैले हेर्न पाउने थिए ।

जात्रा हेर्न नपाएको भन्दा पनि व्यवस्थापनमा धेरैले प्रश्न उठाएका छन् । विगतका वर्षहरूमा पनि जात्रा हेदै आइरहेका ज्येष्ठ नागरिकहरू राजाका पालामा आफूहरूले यस्तो सास्ती भोग्नु नपरेको बताउँछन् ।

परापुर्वकाल देखिनै मनाउँदै आइरहेको यस जात्रा सरकारले अलि व्यवस्थापन गरेर सबैले हेर्न मिल्ने बनाउनुपर्ने ज्येष्ठ नागरिकहरूको धारणा छ ।

सर्लाही घर भएकी अमृता मण्डलले सरकार देखी जनता सम्मले हेर्न मिल्ने गरी व्यवस्थापन हुनुपर्ने बताइन् । उनी भन्छिन्, नेपाल र नेपालीको संस्कृति मनाइँदा कोही भित्र कोही बाहिर भएको शोभा दिएन त्यस कारण सबैले हेर्न मिल्ने वातावरण बनाउन जरुरी छ ।