Logo

बागमती पेज

चैत्र १६, २०७९ बिहीबार

हातले टेकेर भर्‍याङका खुड्किला ओर्लिँदै विश्व रेकर्ड


काठमाडौँ — नेपाली सेनाका हरिचन्द्र गिरीले सबैभन्दा छोटो समयमा हातले टेकेर भर्‍याङका खुड्किला ओर्लिने प्रतिस्पर्धामा विश्व रेकर्ड कायम गरेका छन् ।

‘सबैभन्दा छोटो समयमा भर्‍याङका खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिरीले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दाबी गरेका हुन् ।

केही सातापछि उनले गिनिज वर्ल्ड रेकर्डबाट आधिकारिक रुपमा सर्टिफिकेट हात पार्नेछन् । गिरीले २५.०३ सेकेन्डमा भर्‍याङका ७७ खुड्किला हातले टेकेर ओर्लिँदै गिनिज वर्ल्ड रेकर्डमा दाबी गरेका हुन् । यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । केन्नीको रेकर्ड तोड्दै नेपाल आर्मीमा कार्यरत दाङका गिरीले २५.०३ सेकेन्डमै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन् ।

हालै बुढानीलकण्ठको जाम्चेन विजय स्तुपामा भर्‍याङका ७७ खुड्किला हातले टेक्दै २५.०३ सेकेन्डमै ओर्लिएर गिरीले विश्व रेकर्ड राखेका हुन् ।

गिरीको यो कौशल मन पराएर नेपाली सेनाका उपरथी सन्तोष कुमार ढकाल र महासेनानी अच्युतम भन्डारीले उनलाई नेपाल आर्मीको खेलकुद केन्द्रमा ल्याएका थिए । यसले गर्दा आफ्नो खेल कला विकासका लागि एकदमै सहजता मिलेको गिरीले बताए । यसअघि गिरीले तीन वटा शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका छन् ।