Logo

बागमती पेज

बैशाख ७, २०८० बिहीबार

अनेरास्ववियु मोरङको विवाद सतहमा, गुटबन्दि गरिएको आरोप


काठमाडौँ । एमाले निकट अनेरास्ववियु मोरङको विवाद सतहमा देखिन थालेको छ । महेन्द्र मोरङ क्याम्पसको चुनावमा अध्यक्ष पदका उमेदवारसहित अधिंकाशले हारेपछि यो विवादले चर्को रुप लिन थालेको हो ।

गुटबन्दीकै कारण अहिले महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियु कमिटी सुस्त रहेको छ । गुटबन्दी गरेर अध्यक्ष तथा अधिकांश पदाधिकारीलाई हराएको भन्दै कोशी प्रदेश संयोजक गोकर्ण घिमिरे, केन्द्रीय सदस्य जोसेफ घिमिरेमाथि कारवाही हुनु पर्ने माग चर्को रुपमा विद्यार्थीहरुले उठाउन थालेका छन् । उनीहरुकै नेतृत्वमा गत चैत्र ५ गते सम्पन्न स्ववियू निर्वाचनमा संगठनका उमेदवारहरु हराएको विद्यार्थी नेताहरुको आरोप छ ।

निर्वाचनको अघिल्लो दिन चैत्र ४ गते विराटनगरको एक होटलमा प्रदेश संयोजक गोकर्ण घिमिरेको नेतृत्वमा केन्द्रीय सदस्य जोसेफ घिमिरे, सचिव पदका उमेदवार सनिम ठकुरी तथा नेविसंघका अध्यक्ष पदका उमेदवार जशवन्त पौडेलसहितका नेताहरुबीच नेविसंघका अध्यक्षसहित अन्य पदमा जिताउने र सचिवमा भने ठकुरीलाई मत माग्ने गरि सहमति गरेको प्रमाण सहित नेतृत्वलाई जानकारी गराएको भएपनि नेतृत्व गम्भीर नभएको अनेरास्ववियु महेन्द्र मोरङका एक नेताले बताए ।

प्रदेश संयोजक घिमिरेले निर्वाचनकै दिन क्याम्पस गेटमा ‘जसस्व जिन्दावाद’ भन्दै नारा लगाईएको समेत आरोप छ । यो विषयमा पार्टीका नेताहरुसँग पटक पटक छलफल भएपनि नेतृत्वले गम्भीर रुपमा नलिएको कारण नै हार व्योहोर्नु परेको एक सदस्य पदका उमेदवारले बताए । चुनावको मौन अवधि सुरु हुनु अघि नै केन्द्रीय सदस्य जोफेसको नेतृत्वमा नेविसंघका अध्यक्ष पदका उमेदवार जशवन्त पौडेलका लागि मत मागिरहेको फेला पारेर बैठक नै भएपनि नेतृत्वले गम्भीर रुपमा नलिदाँ परिणाम देखिएको उनी बताउँछन् । उनले अराजकतालाई प्रश्रय दिएको कारण अहिले विद्यार्थी संगठन भित्र चरम नैराश्यता देखिएको बताए ।

यो विषयमा नै असन्तुष्ट रहेका अध्यक्ष पदका उमेदवार तथा अनेरास्ववियु सहसचिव एवं महेन्द्र मोरङ क्याम्पस इन्चार्ज नविन पहाडीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आजै असन्तुष्टि ब्यक्त गरेका छन् । उनले सो पोष्टमा ‘अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पसमा पछिल्लो समय देखापरेका केही घटनाक्रम प्रति इन्चार्ज भएको नाताले असहमति जनाउँदछु’ भन्दै यस्ता गतिविधिले संगठनको मर्यादामा आँच आउने उल्लेख गरेका छन् ।

उनले सांकेतिक रुपमा महेन्द्र मोरङ क्याम्पसमा गुटगत आधारमा क्याम्पस कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै विरोध गरेका हुन् । क्याम्पस कमिटी अध्यक्ष सनिम ठकुरी स्ववियु सचिवमा निर्वाचित भएपछि उनले उपाध्यक्ष आरोग्य थापा र सचिव केशव भण्डारीलाई कार्यवाहक नदिइ सदस्य रोमन खवासलाई दिएकोमा आपत्ति जनाएका हुन् ।

यो विषयमा सल्लाह समेत नगरेको उनको भनाइ छ । तर यो विषय जोडिएर यसअघि नै देखि देखिएको गुटकै कुरामा पुग्ने अनुमान सहजै गर्न सकिन्छ । निर्वाचनको चर्चासँगै जसस्वको नाराबाट सुरु भएको थियो । नेविसंघका क्याम्पस सभापति जशवन्त पौडेल, अखिलका अध्यक्ष सनिम ठकुरी र नेविसंघकै सचिव स्वस्तिक बोहोराको नाममा ‘जसस्व’ नाराको सुरुवात नै जोसेफ घिमिरेको निर्देशनमा गरेको एमालेका स्थानीय एक नेताले बताए ।

अनेरास्ववियुका सहसचिव तथा महेन्द्र मोरङ क्याम्पस इन्चार्ज पहाडीले अखिलमा विवाद रहेको नभइ केहीले अराजकता देखाइरहेको भन्दै पार्टी नेतृत्वले गम्भीर भएर समाधानमा लाग्नु पर्ने बताउँछन् ।