Logo

मेघनाथ पहाडी

बैशाख १६, २०८० शनिबार

स्थानीय तहमा प्रभावकारी काम गर्न उपत्यका भित्रका उपप्रमुखको सक्रियता


काठमाडौँ । काठमाडौँ उपत्यका स्तरिय उपप्रमुख/उपाध्यक्ष सञ्जालको दोश्रो बैठक सम्पन्न भएको छ । पालिकाहरुको काम के कसरी भएका छन्, अझ प्रभावकारी रुपमा काम कसरी अगाडी बढाउन सकिन्छ, उपत्यका भित्रका पालिकालाई कसरी अझ प्रभावकारी नतिजा ल्याउने भन्ने विषयमा छलफल गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा पार्क भिलेज होटलमा भएको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका योजना महाशाखा प्रमुख महेश प्रसाद पाठकले ‘योजना अनुगमन’ सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले उपत्यकामा रहेका स्थानीय तहमा भएका असल अभ्यासलाई अर्को पालिकामा लागु गर्न पहल गर्नुपर्ने । एक अर्को स्थानीय तहको अबलोकन भ्रमण गरी कार्य प्रकृतिलाई एउटै ढाँचामा ल्याउनुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

‘साँस्कृतिक उपत्यका: समृद्धिको बाटो’ विषयमा स्नेह शाहीले कार्यपत्र उल्लेख गर्नुभएको थियो । उहाँले पैदल यात्रु मैत्री सडक, रैथाने उत्पादनलाई ब्राण्डिङ तथा प्रवर्द्धन, फोहोर व्यवस्थापन लगायतका विषयमा सरकारले चासो दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै दक्षिणकाली उपप्रमुख बसन्ती तामाङ डंगोलले ग्रामिण भेग भएका कारण साना साना काममा पनि स्थनीय खुशी हुने भन्दै ठुला विकासका योजना भन्दा सानालाई नै जोड दिएको बताउनुभयो । उहाँले फर्पिङलाई प्राकृतिक तथा साँस्कृतिक सहर बनाउन नगरपालिकाको विषेश योजना बनाएको बताउनुभयो ।

टिप्पणी गर्नुहुँदै भक्तपुरको सुर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले उपत्यका स्तरिय उपप्रमुख/उपाध्यक्ष सञ्जालको बैठक प्रभावकारी भएको बताउनुभयो । अन्य नगरका राम्रा काम सिक्न र कार्यान्वयन गर्न समेत हौसला मिलेको उहाँको उहाँले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “सबैजना एकै ठाउमा बसेर छलफल गरेर काम अगाडी बढाउँदा धेरै कुराहरु जान्ने बुझ्ने सिक्ने र कार्यान्वयन गर्नपनि सहज भएको छ । आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्न हौसला समेत भएको छ । चुनौतिलाई कसरी समाधान गर्ने र आगामी योजना बनाउन समेत सहज भएको छ ।”

नागार्जुन नगरपालिका उपप्रमुख सुशिला अधिकारीले बेरुजु न्युनिकरण कसरी गर्ने सम्बन्धमा कार्ययोजना बनाएर काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो । गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीले नगरमा बेरुजु धेरै आएको भन्दै यसलाई कम गर्न समाधानको उपाय बारेपनि सोच्नुपर्ने धारणा राख्नुभयो ।

कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यले एउटै कामलाई तीन पटकसम्म अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय योजना सम्बन्धि कार्यविधी नगरमा नहुदा स्थानीय तहले समस्या भोग्नु परेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले बूढानीलकण्ठले गरेका असल अभ्यास सम्पुर्णमा जानकारी गराएको बताउनुभयो । विज्ञहरुको कार्यपत्र प्रस्तुतबाट मुल्याङ्कन गरेर अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो ।

उपप्रमुख लामाले उपत्यका साँस्कृतिक सम्पदाको सहर भएकाले सही ढंगले व्यवस्थित सम्वर्द्धन र प्रवर्द्धन गर्न सञ्जालले प्रतिवद्धता जनाएको बताउनुभयो । उहाँले उपत्यका भित्रका पालिकामा भएका असल अभ्यासलाई अन्य पालिकामा पनि आदानप्रदान गर्नुपर्ने बताउनुभयो । त्यसैगरी साझा गरिने कार्य सम्पादन, नीति नियमका विषयमा एकरुपता दिन सञ्जाल थप सक्रिय रहने प्रतिवद्धता रहेको जनाउनुभयो ।

उपप्रमुख अनिता लामाले आगामी तेस्रो बैठक भक्तपुरको सुर्यविनायक नगरपालिकामा हुने सञ्जालको निर्णय रहेको बताउनुभयो । सो बैठकमा नीति, कार्ययोजना तथा कार्यान्वयन कसरी गराउनले विषयमा बैठक बस्ने निर्णय भएको जानकारी दिनुभयो ।

कार्यक्रममा कविता प्रस्तुत गरिएको थियो भने स्थानीय तामाङ समुदायका कलाकारहरुले डम्फु, टुङ्ना र वासुरीले कवितालई थप रोचक बनाउनुभयको थियो ।