Logo

मेघनाथ पहाडी

जेष्ठ ६, २०८० शनिबार

वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला बूढानीलकण्ठमा सुरु


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला सुरु भएको छ । नगरपालिका परिसरमा सञ्चालित मेलामा नगरप्रमुख मीठाराम अधिकारीले उद्घाटन गरे ।

नगरप्रमुख अधिकारीले युवालाई देशमै केही गरौँ भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “युवा विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि गएका युवाहरु फर्किएर नेपालमै काम नगरेको अवस्था छ । युवालाई स्वदेशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्ने उत्प्रेरणा दिने उद्देश्यले नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।”

नगरपालिका उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार बनाउन गर्न र युवाशक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिइन् ।

उनले ज्ञान, सीप, क्षमता भएका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राखिन् । उपप्रमुख लामाले नगरको आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रममा शिक्षालाई प्रथामिकता दिँदै स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको जनाइन् ।

नगरपालिका प्रवक्ता नवराज भट्टराईले मेलाको पहिलो दिन पाँच हजार पाँच सयभन्दा बढी युवा मेलामा सहभागी भएका जानकारी दिए । उनले जेठ ६ र ७ गते दुई दिन सञ्चालन हुने मेलामा नगरले आकलन गरेका भन्दा धेरै युवाले सहभागिता जनाउन सक्ने अनुमान गरेको बताए । रासस