Logo

बागमती पेज

जेष्ठ २३, २०८० मंगलबार

पहिलो सिजनमै चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । चर्च ब्वाइज ‘ए’ डिभिजनमा नवप्रवेशी क्लब हो । ‘बी’ डिभिजनबाट उक्लिएर माथिल्लो श्रेणीको लिग खेलेको पहिलो सिजनमै चर्च ब्वाइजले ‘ए’ डिभिजनको उपाधि चुमेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । मंगलबारको खेलअघि चर्च ब्वाइजलाई उपाधि जित्न केवल एक अंक आवश्यक थियो । चर्च ब्वाइज लिगको एक खेल बाँकी रहँदै च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजले ’बी’ लिगबाट बढुवा भएकै सिजन ’ए’ डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको छ । यसअघि मनाङले २०४३ सालमा ‘बी’ डिभिजनबाट माथि उक्लिएकै सिजनमा ‘ए’ डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो  ।

चर्च ब्वाइज २५ खेलबाट ४५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइज दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अंकले अगाडि छ । अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मछिन्द्रले २४ खेलबाट ३९ अंक जोडेको छ । थ्री स्टार २५ खेलबाट २९ अंक बटुल्दै तालिकाको १२औँ स्थानमा छ ।