Logo

बागमती पेज

भाद्र १, २०८० शुक्रबार

एसियन गेम्समा नेपाली महिला ह्यान्डबल खेलाडी पहिलो पटक सहभागी हुदै


पोखरा । १९ औँ एसियन गेम्समा सहभागी हुने नेपाली महिला ह्यान्डबलका खेलाडीहरू यति वेला पोखरामा प्रशिक्षणमा व्यस्त रहनु भएको छ । साउनको पहिलो साता देखि पोखरा रंगशालाको कभर्ड हलमा बिहान र बेलुका दैनिक प्रशिक्षण भई रहेको प्रशिक्षक विन्दा थापाले बताउनुभयो ।

आउँदो सेप्टेम्बर २३ देखि अक्टुवर ८ तारिकसम्म चाइनाको हान्झाउमा हुने १९ औँ एसियन गेम्समा नेपालको महिला ह्यान्डबल पहिलो पटक सहभागी हुने भएकोले उत्कृष्ट प्रदर्शन गर्न आफूहरूको मेहनत जारी रहेको उहाँको भनाई छ । नेपाली ह्यान्डबलको टिमले आउँदो सेप्टेम्बर २४ मा चाइनासँग सेप्टेम्बर २७ मा जापानसँग सेप्टेम्बर २९ मा हङकङ र सेप्टेम्बर ३० तारिखमा भने भारतसँग एउटा समूहबाट खेल खेल्ने तालिका समेत सार्वजनिक भएको प्रशिक्षक थापाले बताउनु भयो । पोखरामा इण्डोर हल भएकोले गर्दा प्रशिक्षणमा कुनै कमी नभएको उहाँले बताउनु भयो । म्याच अनुभवको लागि विदेशसम्म लैजान पाए खेलाडीहरूको लागि थप हौसला र अनुभव हुने उहाँको भनाई छ ।

नेपाली ह्याण्डवकी कप्तान वन्दना राईले एसियन गेम्समा पहिलो पटक सहभागी हुनु नै ठुलो उपलब्धी भएको बताउनु भयो । नेपालले ह्यान्डबल खेलबाट पदक ल्याउनु भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने रणनीतिमा रहेको उपकप्तान उमा राईले बताउनु भयो । प्रशिक्षणमा हाल खासै समस्या नभए पनि थप अनुभवको लागि विदेशी खेलाडीहरूसँग खेल्ने अवसर भए राम्रो हुने उहाँहरूको माग छ ।

यसैबिच, नेपालको महिला ह्यान्डबलको टिमलाई विमेन क्लब अफ पोखराले ट्याकसुट सहयोग हस्तान्तरण गरेको छ । बिहीबार एक समारोहका बिच क्लबका संस्थापकद्वय सारिका गुरुङ र शान्ति गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा, निवर्तमान कार्यालय प्रमुख डि.बी. नेपाली लगायतले खेलाडीहरूलाई ट्याक हस्तान्तरण गर्नु भएको थियो ।

समाज र राष्ट्र निर्माणमा महिलाहरूको भूमिका समेत महत्वपूर्ण रहेकोले आफूहरूको क्लबले खेलाडीहरूको हौसला रुवरुप उक्त सहयोग गरेको क्लबका संस्थापक सारिकाले बताउनु भयो । नेपाली महिला खेलाडीले राष्ट्रको नाममा एसियन गेम्स खेल्न लागेको उक्त टिमलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै उहाँले उपाधि जित्ने गरी खेलको तयारी गर्न आग्रह गर्नु भयो ।

नेपाली महिला ह्यान्डबलको टिमको कप्तानमा वन्दना राई, उपकप्तानमा उमा राई र अन्य खेलाडीहरूमा आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नेत, देवी श्रेष्ठ, ममता राना, अदिति चौधरी, सङ्गीता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना रहनु भएको छ । प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहनु भएको छ ।