Logo

बागमती पेज

भाद्र ६, २०८० बुधबार

महिला खेलाडी चुम्बन गर्ने अध्यक्ष कारबाही गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति


काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनिस फुटबल महासङ्घका अध्यक्ष लुइस रुबिलेसको व्यवहारको आलोचना गरेका छन् । प्रधानमन्त्री सान्चेजले भनेका छन्, ‘स्पेनिस टोलीले नवौं महिला विश्वकपको उपाधि जितेपछि सार्वजनिक स्थलमा रुबिलेसले जुन व्यवहार देखाए त्यो अशोभनीय र निन्दनीय छ ।’

अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको थियो । गत आइतबार अस्ट्रेलियाको सिड्नीस्थित रङ्गशालामा खेलिएको फाइनल खेलमा स्पेनले इङ्गल्यान्डलाई १-० गोलले हराएको थियो ।

जितको खुसीयाली मनाउने क्रममा अध्यक्ष रुबिलेसले अशोभनीय व्यवहार प्रदर्शन गरेका थिए । उनले महिला खेलाडीसँग खुसी साटासाट गर्ने क्रममा स्पेनिस टोलीकी अनुभवी मिडफिल्डर जेनिफर हर्मोसोको अनुमति बिना नै उनको ओठमा चुम्बन गरेका थिए । त्यसपछि अध्यक्ष रुबिलेसको उक्त अप्रिय व्यवहारको चौतर्फी विरोध र आलोचना भएको थियो ।

आफ्नो उक्त कार्यका लागि अध्यक्ष रुबिलेसले सार्वजनिक रूपमै माफी मागिसकेका छन् । घटना भएको एक दिनपछि नै अध्यक्ष रुबिलेसले सार्वजनिक रूपमा माफी मागेका थिए । ‘खुसीयाली मनाउने क्रममा नजानेर भएको उक्त गल्तीका लागि म माफी माग्न चाहन्छु,’ उनले भनेका थिए ।

त्यसअघि भने अध्यक्ष लुइसले मूर्खहरूले अनावश्यक कुराको विषयमा चर्चा गरिरहेको प्रतिक्रिया दिएका थिए । ‘यहाँ जताततै मूर्खहरू छन् । त्यो सामान्य घटना हो । त्यसलाई मुर्खतापूणर् तरिकाले बढाइचढाइ गरिएको छ,’ उनले आइतबार भनेका थिए ।

तर, स्पेनका प्रधानमन्त्रीले त्यो घटनाका लागि माफी मात्र पर्याप्त नरहेको बताएका छन् । ‘त्यो घोर आपत्तिजनक व्यवहार थियो । अध्यक्ष रुबिलेसले माफी त मागेका छन् । तर, त्यो अशोभनीय घटनाका लागि माफी मात्र पर्याप्त हुन सक्दैन,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अध्यक्ष रुबिलेसमाथि कुनै कारबाही गरिने सङ्केत पनि दिएको छ । ‘हामीले भिडियो रेकर्डिङमा जे देख्यौँ त्यो अत्यन्तै निन्दनीय घटना हो,’ प्रधानमन्त्रीको कथन छ, ‘देशको गौरव बढाउन महिला खेलाडीले खेल मैदानमा कठिन परिश्रम गरेका छन् । तर, रुबिलेसको व्यवहारले के देखाउँछ भने खेल मैदानमा लैङ्गिक विभेद हटाउन हामीले अझै ठुलो सङ्घर्ष गर्नु आवश्यक छ ।’

स्पेनकी उपप्रधानमन्त्री योलान्डा डियाजले त रुबिलेसले स्पेनिस फुटबल महासङ्घको अध्यक्ष पदबाटै राजीनामा दिनुपर्ने मागसमेत गरेकी छन् । ‘त्यो अशोभनीय घटनाका लागि माफी निकै सानो शब्द हो । रुबिलेसले पदबाट राजीनामा दिनुपर्छ,’ उनले भनेकी छन् ।

प्रधानमन्त्री र उपप्रधानमन्त्रीको धारणा सार्वजनिक भएपछि उक्त घटनाको विषयमा छलफल गर्न स्पेनिस फुटबल महासङ्घले आपत्कालीन साधारण सभा पनि बोलाएको छ । सरकारका अन्य मन्त्रीहरूले पनि रुबिलेसको व्यवहारको चर्को आलोचना गरेका छन् ।

अध्यक्ष रुबिलेसले मिडफिल्डर जेनिफर हर्मोसोको ओठमा चुम्बन गर्दा त्यो क्षणको विश्वभर प्रत्यक्ष प्रसारण भइरहेको थियो । पछि सञ्चारकर्मीहरूले मिडफिल्डर जेनीलाई उक्त घटनाको विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफ जेनिफरले हाँसेर दिएकी छन् । ३३ वर्षीया जेनिफरले भनेकी थिइन्, ‘ए त्यो १ तर, मलाई मन परेन ।’

मिडफिल्डर जेनिफर र टोलीका अन्य खेलाडीहरूले त्यो घटनाको प्रत्यक्ष प्रसारण भइरहेको र चुम्बनको घटना पनि भिडियोमा रेकर्ड भएको जानकारी पछि मात्र पाएका थिए । सञ्चारकर्मीहरूले जेनिफर र अन्य खेलाडीलाई त्यो भिडियो देखाएका थिए । समाचारमा जनाइए अनुसार, त्यो भिडियो हेरेपछि खेलाडीहरू आश्चर्यचकित भएर चिच्याएका थिए ।

त्यो घटना सार्वजनिक भएपछि फुटबल समर्थकहरू पनि आश्चर्यचकित भएका छन् । यस विषयमा थुप्रै समर्थकले सामाजिक सञ्जालमा विभिन्न धारणा व्यक्त गरेका छन् । कतिपय समर्थकले महासङ्घका अध्यक्ष लुइस र मिडफिल्डर जेनिफरबीच प्रेम सम्बन्ध रहेको आशंका पनि व्यक्त गरेका छन् । कतिपयले त्यो घटनालाई स्पेनिस संस्कृतिविरुद्धको क्रियाकलापका रूपमा पनि चित्रण गरेका छन् ।

एल पाइसकी सम्पादक नाडिया ट्रोनचोनीले यो घटनालाई जितको खुसीयाली मनाइरहेका सम्पूर्ण महिलामाथि गरिएको दुर्व्यवहारको रूपमा व्याख्या गरेकी छन् । ‘यो जितको खुसीयाली मनाइरहेका सम्पूर्ण महिलामाथि गरिएको आक्रमण हो । एउटा व्यक्तिको व्यवहारका कारण सिङ्गो देशले खुसीयाली मनाइरहेको क्षण विवादित बन्न पुग्यो,’ उनले भनेकी छन् ।

केही समयअघि स्पेनिस महिला टोलीका केही खेलाडीले प्रमुख प्रशिक्षक योर्गे भिल्डाविरुद्द पनि गैरब्यवसायिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका थिए । टोलीका केही महत्त्वपूर्ण खेलाडीले प्रमुख प्रशिक्षक योर्गे भिल्डाको नेतृत्वमा नखेल्ने अडान पनि लिएका थिए ।

उनीहरुले प्रशिक्षकमाथि दुर्व्यवहारको आरोप लगाएका थिए । यस विषयमा विश्व फुटबल महासङ्घ (फिफा) ले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । मिडफिल्डर जेनिफरले पनि सामाजिक सञ्जालमार्फत कुनै प्रतिक्रिया सार्वजनिक गरेकी छैनन् । एजेन्सी