काठमाडौँ । स्वर्गीय दिलकुमारी श्रेष्ठलाई ‘नारी, शिक्षा एवं जागरण सम्मान’ प्रदान गरिएको छ । ‘मेची आमा’ नामले परिचित समाजसेवी श्रेष्ठलाई मरणोपरान्त माया सिटौला नारी शिक्षा एवं जागरण सम्मान प्रदान गरिएको हो । उनलाई ॐ भानुवेद स्मृति प्रतिष्ठानले सम्मान गरेको हो ।
मेची आमाको १२औँ पुण्यतिथिको अवसर पारेर प्रतिष्ठानले उनलाई सम्मान पत्रसँगै नगद एकाउन्न हजार रुपैयाँसहित सम्मान गरेको हो । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले मेची आमाका जेठा छोरा विश्वनाथ श्रेष्ठलाई सो सम्मान हस्तान्तरण गरेकी थिइन् ।
२०२४ सालमा झापाको हल्दीबारीमा महिलाले पनि हलो जोत्न हुन्छ भन्दै समाजलाई चुनौती दिएकी मेची आमा (श्रेष्ठ) तत्कालीन नेपाल महिला संगठनको मेची अञ्चल इन्चार्ज हुँदै २०२७ सालमा राजसभा स्थायी समिति सदस्य समेत बनेकी थिइन् ।
झापाको भद्रपुर घर भएकी श्रेष्ठको काठमाडौंमा उपचारका क्रममा २०६८ साल भाद्र १२ गते ९९ वर्षको उमेरमा निधन भएको थियो । २०१७ सालदेखि समाजसेवा र राजनीतिमा सक्रिय श्रेष्ठले गरेको कामको उच्च मूल्यांकन गर्दै उनलाई मेची आमा उपनाम दिइएको हो ।
















प्रतिक्रिया दिनुहोस्