Logo

बागमती पेज

आश्विन २, २०८० मंगलबार

सुवासचन्द्र नेम्वाङको स्मृतिमा प्रवचन कार्यक्रम सम्पन्न


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय सुवासचन्द्र नेम्वाङको सकारात्मक पहलका कारण चौतर्फी दबाबबिच पनि संविधान जारी गर्न सफल भएको बताउनुभएको छ ।

नेकपा एमालेले आज संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजना गरेको ‘सुवास र संविधान’ प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले नेम्वाङको निधनले देशले एउटा असल र क्रियाशील नेता गुमाएको बताउनुभयो ।

अध्यक्ष ओलीले सुवास नेम्वाङले देशलाई बनाउन गर्नुभएको प्रयास सकारात्मक र सही रहेको भन्दै त्यो प्रयासलाई सबैले अगाडी बढाउनु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जली हुने बताउनुभयो ।

अध्यक्ष ओलीले स्वर्गीय नेम्वाङले पाँच दशकभन्दा बढी समय राजनीतिमा बिताएको स्मरण गर्दै देश र जनता केन्द्र भागमा राखेर सकारात्मक परिवर्तन, सामाजिक न्याय, समानता, सुशासनलाई आत्मसाथ गरेर राजनीति गरेको स्मरण गर्नुभयो ।

स्वर्गीय नेम्वाङको निष्ठा, देश केन्द्रित, जन केन्द्रित र न्याय केन्द्रित राजनीतिबाट पाठ सिकेर अगाडी बढ्नुपर्नेमा समेत अध्यक्ष ओलीले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको वास्तविक कार्यान्वयन नै नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले राष्ट्रियताका साझा मुद्दा र र संविधान कार्यान्वयनमा सबै मिलेर अगाडी बढ्नु नै नेम्वाङप्रतिको सम्मान हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता ओनसरी घर्तीले व्यवस्थापिका संसद्को आफू सभामुख हुँदा स्वर्गीय नेम्वाङले अभिभावकका रुपमा सहयोग गरेको स्मरण गर्दै आजको संसदलाइ पनि प्रभावकारी ढंगले अगाडी बढाउन आवश्यक एक अभिभावक गुमाएको बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता रकम चेमजोङले संविधान सभा र सभामुखका रुपमा स्वर्गीय नेम्वाङले संसदमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले संविधान सभा र व्यवस्थापिका संसदमा पक्ष र विपक्षबिचको विवाद समाधान गरेर अगाडी बढ्न उहाँको भूमिका महत्वपूर्ण रहने गरेको स्मरण गर्नुभयो ।

राजनीतिक विश्लेषक नीलाम्बर आचार्यले संविधानको पर्यायवाची जस्तै मानिने नेम्वाङको निधनबाट देशको राजनीति र दलहरूले निकटतम मित्र गुमाएको बताउनुभयो ।

कार्यक्रममा स्वर्गीय नेम्वाङकी धर्मपत्नी र छोरी, नेकपा एमालेका नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।

आजै नेकपा एमालेले स्वर्गीय नेता नेम्वाङको स्मृतिमा विभिन्न प्रदेशमा विचार गोष्ठीको आयोजना गरेको छ ।