Logo

बागमती पेज

आश्विन ४, २०८० बिहीबार

सस्तो मूल्यमै भारत जाँदै नेपाली चिया


काठमाडौँ । भारतीय व्यवसायीहरु नेपालबाट आयात हुने सस्तो मूल्यको चियाले समग्र भारतीय निर्यात नै प्रभावित बनेको बताउन थालेका छन् ।

‘बिजनेस स्ट्यान्डर्ड’मा प्रकाशित समाचारमा नेपालको सस्तो चियाका कारण चिया निर्यात नै प्रभावित भएको भारतीय व्यवसायीहरूले बताएका हुन् ।

भारतको पश्चिम बंगालको दार्जिलिङ र अन्य स्थानमा ठुलो मात्रामा चिया खेती हुँदै आएको छ । चीन, श्रीलङ्का र केन्यापछि भारत विश्वको चौथो ठुलो चिया निर्यातक राष्ट्र हो । उत्पादनका हिसाबमा विश्वको दोस्रो स्थानमा रहेको भारतले अधिकांश चिया स्वदेशमै खपत गर्छ ।

पछिल्लो समय आयातकर्ताको मापदण्डअनुसार बगानलाई ‘अर्ग्यानिक’मा परिणत गर्दा चिया उत्पादन नै घटेको छ । उत्पादन घटेपछि चिया निर्यातसमेत प्रभावित बन्छ । तर, भारतीय चिया व्यवसायीले नेपालको सस्तो उत्पादनका कारण आफ्नो बजार प्रभावित बनेको बताउन थालेका छन् ।

सस्तो मूल्यमा पाइने नेपालको उत्पादनका कारण भारतीय उत्पादन बिक्न छाडेको भारतीय व्यवसायीको भनाइ छ । ‘विकल्पका रूपमा रहेको छिमेकी नेपालको सस्तो उत्पादनले भारतीय चियाको बजार खस्केको छ,’ समाचारमा उल्लेख छ, ‘दार्जिलिङको चियाको भविष्य अन्धकार देखिँदैछ ।’

आर्या टी स्टेट दार्जिलिङका प्रबन्धक शुभाषिस रोय नेपालको उत्पादनका कारण हजारौँ भारतीय मजदूरले पूर्णरुपमा रोजगारी गुमाउने खतरा बढ्दै गएको बताउँछन् ।