Logo

बागमती पेज

आश्विन १०, २०८० बुधबार

दोलखा र काभ्रेपलाञ्चोकमा छुट्टाछुट्टै घटनामा दुई पुरुषको मृत्यु


काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिकामा एक वृद्धको शव फेला परेको छ ।

मेलुङ गाउँपालिका २ बाँसबोटका ८४ वर्षीय अमर बहादुर कार्कीको हिजो शव फेला परेको हो । उनी सोमबार घरमा कसैलाई नसोधी हिडेका थिए । कार्की घरबाट हिडेको अबेर सम्म नआएपछि स्थानीय र प्रहरी टोलीले खोजीकार्य गर्दा हिजो तामाकोशी नदीको दुई ओटा ढुंगाको बीचमा घोप्टो परेको अवस्थामा फेला परेको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव पोष्मार्टम पछि छोराले बुझि लगिसकेका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । रोसी गाउँपालिका–८ खार्पाचोकका ३९ वर्षीय सिद्धि कुमार लामाको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

बनेपाबाट पनौती जाँदै गरेको बा ८४ प ६९५९ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख ९९७५ नम्बरको टिफरले हिजो बनेपा नगरपालिका–७ मा ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी लामा गम्भिर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको सिरमेमोरीयल अस्पताल बनेपामा सामान्य उपचारपछि थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल काठमाडौं रिफर गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिने टिफर चालकलाई भने नियन्त्रणमा लिइएको छ ।