Logo

बागमती पेज

आश्विन २५, २०८० बिहीबार

चार्डपर्व नजिकिएसँगै मेलुङमा बजार अनुगमन तीब्र


काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिकाले चार्डपर्व नजिकिएसँगै बजार अनुगमनमा तीब्रता दिएको छ । पालिका भित्र सञ्चालित होटल, पसलहरुको अनुगमन गाउँपालिका उपाध्यक्षको नेतृत्वमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा विभिन्न किसिमका म्याद गुज्रिएका खाद्य वस्तु भेटिएको छ । गाउँपालिकाका ६ वटा वडामा सञ्चालित होटल पसलहरुमा गरिएको अनुगमनमा म्याद गुज्रिएका खाद्य पदार्थमा सबै भन्दा बढी भुजा, पीठो, बिस्कुट, बोतलको पिउने पानी, कुरकुरे, बेसार, मसला, दालमोठ लगायतका रहेका गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले बागमती पेजलाई जानकारी दिएकी छन् ।

हाल गाउँपालिकाका ६ वटा वडामा अनुगमन सम्पन्न भएको छ, भने वडा नम्बर ७ पनि अनुगमनकै क्रममा रहेको जनाईएको छ । कतिपय व्यवसायहरु दर्ता, नविकरण नगरिएका भेटीएका छन् । अनुगमनका क्रममा होटल पसलमा सरसफाई गर्न, म्याद गुज्रिएका सामान नष्ट गर्ने, मूल्यसूची राखेर पसल चलाउन व्यवसायीलाई अनुरोध गरिएको थियो ।

उपाध्यक्ष आचार्यले दर्ता नभएकालाई समयमै दर्ता गर्न र नविकरण गर्न बाँकी व्यवसायलाई समयमै नविकरण गरि पालिकालाई सहयोग गर्नु अनुरोध गरेकी थिईन् ।

हाल सम्म गाउँपालिकाभित्र रहेका ५० भन्दा बढी पसल अनुगमन गरिएको छ । नागरिकले गुणस्तरहिन खाद्य वस्तु खानु नपरोस्, स्वस्थ जीवन जीउन पाउन नागरिकको नैसर्गिक अधिकार भएकोले नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको दायित्व भएको हुँदा बजार अनुगमनलाई प्राथमिकता दिई निरन्तर अगाडि बढाइने उपाध्यक्ष आचार्यको भनाई छ ।

अनुगमन गर्न छुटेका र अनुगमन टोली पुग्दा बन्द रहेका व्यवसायमा पुनः अनुगमन गर्ने पालिकाको जनाएको छ ।