Logo

बागमती पेज

कार्तिक १८, २०८० शनिबार

विमानस्थलमा तारा एअरका दुई पाइलटबीच कुटाकुट


काठमाडौँ । रामेछापको मन्थली विमानस्थलमा तारा एअरका दुई पाइलटबीच शुक्रवार बिहान कुटाकुट भएको छ । तारा एअरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलमा नै कुटाकुट भएको हो ।

क्याप्टेन सन्तोष शाहले आज बिहान ८ बजे सोलुखुम्बुकाे लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गर्नुभएकाे थियाे भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानको लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हुनुहुन्थ्याे ।

लुक्लाबाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ हुनुहुन्थ्याे । भेटमा क्याप्टेन शाहले क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुग्दा सामान्य घाइते हुनुभएकाे थियाे ।

घटनापछि क्याप्टेन श्रेष्ठ जहाज लिएर लुक्लातर्फ उड्नु भएकाे छ भने कानुनी उपचारका लागि शाह निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुग्नुभएकाे थियाे । क्याप्टेन शाहले आफूलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारबाहीको लागि निवेदनसहित कार्यालयमा आउनुभएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयाे। उहाँले घटनाबारे थप अनुसन्धान र सोधपुछ गरिरहेको बताउनुभयाे ।

दुई पाइलटबीच के कारणले कुटाकुट भएको भन्नेबारे आफूलाई केही जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे ‘घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला एअरपाेर्टमै ग्राउण्डेड गरिएको छ ।’

जहाजका दुई क्याप्टेनबीच भएको कुटाकुटको विषयमा कम्पनीबाट अनुसन्धान भइरहेको र दुवै जना पाइलटकाे इजाजत पत्र खारेज गर्ने तयारी भइरहेको तारा एअरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयाे ।

‘दुईजना बीच भएको घटना जहाज उडान सम्बन्धी नभइ व्यक्तिगत रिसिइबीको कारणले भएको देखिन्छ । यसबारेमा थप जानकारी लिने काम भइरहेको छ’ बर्तौलाले भन्नुभयाे ।