Logo

बागमती पेज

मंसिर १३, २०८० बुधबार

किन कोषमा जम्मा हुँदैन मुक्तिनाथ मन्दिरको भेटी ?


म्याग्दी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि व्यक्तिको कब्जामा रहेको छ । मन्दिर दर्शन गर्न आएका अधिकांश तीर्थयात्री तथा धार्मिक पर्यटकले मन्दिरभित्र चढाएको पैसा, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरमा रहेका आनी–झुमाको कब्जामा पर्ने गरेको हो ।

एक दशकअघि तत्कालीन पुनरावेदन अदालत बागलुङले मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरकै सम्पत्तिका रूपमा व्यवस्थित गर्न फैसला गरेको थियो । जिन्सी तथा नगद भेटी मुक्तिनाथ क्षेत्र विकास कोष मातहत ल्याउनुपर्ने सरोकारवालाको सुझाव र अदालतको फैसलालाई समेत कार्यान्वयन गर्न अटेर गरिएको छ । मन्दिरबाहिर राखिएका दानपेटीका र नगदी रसिदमार्फत प्राप्त भएको नगद भेटी मात्र गणना गरी कोषमा जम्मा गरिन्छ । गरगहना सार्वजनिक गर्दै कोष मातहत ल्याउनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।

मन्दिरभित्र चढाएको भेटीलाई मुक्तिनाथकै सम्पत्तिका रूपमा गणना हुनुपर्ने मागसहित तत्कालीन पुनरावेदन अदालतमा रिट दर्ता भएको थियो । २०७० साल पुस २२ गते पुनरावेदन अदालत बागलुङले मन्दिर मातहत ल्याउन फैसला गरेको थियो ।

अदालतको उक्त फैसला कार्यान्वयन गर्न जनप्रतिनिधि र सम्बन्धित मुक्तिनाथ क्षेत्र विकास समितिले चासो देखाएका छैनन् । मन्दिरको दानपेटीमा भन्दा मन्दिरभित्र भक्तजनले धेरै पैसा चढाउने गर्दछन् । सबै भेटीलाई मन्दिर मातहत ल्याउने हो भने कोषमा ठुलो रकम जम्मा हुन्छ । मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यस विषयमा छलफल र बहस भए पनि सार्थक हुन नसकेको बताउनुभयो ।

जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग छलफल गरेर फैसला कार्यान्वयनमा लैजान सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि त्यहीँका बौद्ध लामा र आनी–झुमाहरूले लैजाने गरेका छन् । यो विषयमा बेलाबखत कुरा उठे पनि व्यावहारिक र पुरानो धार्मिक मान्यताका कारण निष्कर्षमा पुग्न कठिनाइ भएको छ ।”

मुक्तिनाथ क्षेत्र विकास समितिका सदस्य सचिव तथा मालपोत कार्यालय मुस्ताङका प्रमुख सरस्वती थापाले मन्दिरदेखि बाहिर राखिएका दानपेटिकामा सङ्कलन भएको रकम मात्र गणना गरी कोषमा जम्मा गर्ने गरिएको बताउनुभयो । कोषमा अहिले करिब आठ करोड रुपियाँ जम्मा भएको उहाँले बताउनुभयो । दानपेटीका र मन्दिर परिसरमा नगदी रसिदमार्फत भक्तजनले प्रदान गरेको रकमलाई कोषमा जम्मा गर्ने गरिएको उहाँले बताउनुभयो । दानपेटिका भरिएपछि रकम गणना गर्ने प्रचलन छ । यसअघि गत जेठमा भेटी गणना गरिएको र अहिले फेरि दानपेटीका भरिन थालेकाले मङ्सिरको अन्तिममा गणना गर्ने सदस्य सचिव थापाले जानकारी दिनुभयो ।