Logo

बागमती पेज

मंसिर २०, २०८० बुधबार

बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे ‘होलीडे इन’ तीन अर्बमा तयार


काठमाडौं । एलिटहरु बसोबास गर्ने उपत्यकाकै प्रिमियम आवासीय क्षेत्रको पहिचान बनाएको बुढानिलकण्ठमा पाँचतारे होटेल सञ्‍चालनमा आउने भएको छ ।

तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा बुढानिलकण्ठमा ‘फरेष्ट इन’ तयार भएको छ, जुन होटेल सन् २०२४ को सुरुवातमै सञ्‍चालनमा ल्याउने तयारी छ । यो होटेल बहुचर्चित अन्तर्राष्ट्रिय ब्रान्ड ‘होलीडे इन’ को नामबाट सञ्‍चालनमा आउनेछ ।

अन्तर्राष्ट्रिय होटेल कम्पनी इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी)को मिडस्केल ब्रान्ड ‘होलीडे इन’ ल्याउने सम्बन्धमा सम्झौता समेत भइसकेको छ ।

होलीडे इन सञ्‍चालनमा आएपछि बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटेल हुनेछ । र, बुढानिलकण्ठ क्षेत्रमा नयाँ आयाम पनि थपिने छ । सोही क्षेत्रमा अर्को पाँचतारे बुढानिलकण्ठ हेरिटेज निर्माणको अन्तिम चरणमा छ भने बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पनि ६ अर्ब लगानी गरेर लक्जरी रिसोर्ट सञ्‍चालनको तयारी थालेको छ ।

कांग्रेस सांसद दीपक खड्काको लगानी रहेको फरेष्ट इनमा ९३ प्रतिशत वित्तीय प्रगती भइसकेको बताइएको छ । २६ रोपनी क्षेत्रफलमा बनिरहेको होटेलमा १०५ कोठाहरु रहनेछन् ।

यसअघि होटेलको लगानी दुई अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएकोमा कोभिड महामारी र मन्दीका कारण निर्माण तथा सञ्‍चालनमा ढिलाइ हुँदा बढेर तीन अर्ब १३ करोड रुपैयाँ पुगेको बताइएको छ । जसमध्ये दुई अर्ब १३ करोड रुपैयाँ बैंकको ऋण लगानी हुनेछ ।

होटेलले दुई अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । होटेलमा स्वीमिङ पुल, क्यासिनो, ब्यांक्वेट हल, रेष्टुरेन्ट, कन्फ्रेरेन्स हल, साउन, स्पा, हेल्थ क्लव, रेष्टुराँ लगायत हुने बताइएको छ ।

व्यवसायी थापाको झापास्थित होटेल इष्टर्न नेपालमा पनि लगानी रहेको छ । यो होटेलमा लगानी थपेर पाँचतारेमा स्तरोन्‍नतीको काम भइरहेको छ । साथै, उनको मन्छियाम हाइड्रोपावरमा पनि लगानी रहेको छ ।

यो होटेल सञ्‍चालनमा आएपछि काठमाडौं आएका पर्यटकका लागि नयाँ गन्तव्य तयार हुनेछ । शिवपुरी राष्ट्रिय निकुञ्‍जको काखमा रहेको बुढानिकलण्ठ शान्त र रमणीय रहेको छ । सो क्षेत्रबाट निकुञ्‍जभित्र हाइकिङ लागी जान सकिन्छ । साथै, प्राकृतिक सुन्दरताका साथै शान्त र रमणीय ठाउँ खोज्‍ने पर्यटकका लागि होलीडे इन सबैभन्दा उपयुक्त होटेल बन्‍ने अपेक्षा छ ।