Logo

बागमती पेज

पुस ६, २०८० शुक्रबार

मेवा बेचेर मासिक डेढ लाख आम्दानी


मन्थली (रामेछाप) । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् । अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए ।

रामेछाप नगरपालिका ८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उनले बताए । सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उहाँले जानकारी दिए ।

आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाएका छन् । उनका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट उनले दुई वर्षअघिदेखि सुरु गरेको मेवाखेतीबाट लाखौँ आम्दानी गरिरहेका छन् ।

कृषक आचार्यले भने, ‘पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ । यसको होलसेल मूल्यमा रू एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ ।’ एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उनले बताए ।

बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो । उनले भने, ‘अरु रोजगारीका लागि विदेश जान्छन् । म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ । काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ ।’

आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिए । नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उनले बताए ।