Logo

बागमती पेज

पुस १०, २०८० मंगलबार

बालश्रमसँगै पढाइलाई निरन्तरता दिइरहेका बालबालिकाको कथा


काठमाडौँ । आमाको न्यानो काख, बुबाको न्यानो काँध बालबालिकाका लागि प्रिय हुन्छन् । बाल्यकाल आमाबुवाकै वरिपरि घुमिरहन्छ । आफूले देखेको र चाहेको कुरा नपाए क्षणभरमै रिसाउने । मागेको चिज पाए फुरुङ्गै हुने । बालबालिकाको नेचर नै हो । तर यस्तो अवसर सबै बालबालिकाले पाउँदैनन् । त्यही भीडमा छिन् रामेछापकी अञ्जली ।

सानै उमेरमा रामेछापबाट काठमाडौँ आइन् र काठमाडौँ एक धनी परिवारसँग बस्न थालिन् । ९ वर्षको हुँदा गाउँकै एक जना बाजेको आग्रहमा उनका आमाबुवालाई काठमाडौँ पठाएका थिए ।

काठमाडौँमा धनी परिवारमा काम केही गर्नु नपर्ने, जति मन लाग्यो त्यति पढ्न पाइने भनेपछि उनलाई आमाबुबाले काठमाडौँ पठाए । सानै उमेरमा आमा बुबाबाट टाढा काठमाडौँ आएकी अञ्जलीलाई गाउँमा बाजेले भने जस्तो भएन ।

९ वर्षको हुँदा नै २० वर्षकी किशोरी जस्तो काम गर्नुपर्थ्यो । बिहान सबेरै उठ्नुपर्ने । घर सरसफाइदेखि लिएर खाना पकाउनुपर्ने । खाना पकाएर सबैलाई खुवाएर मात्रै उनी खान पाउँथिन् । खाना खाएर १० बजेभित्र स्कुल पुगिसक्नु पर्थ्यो । बिहान १० बजेदेखि ४ बजेसम्म स्कुलमा हुन्थिन् ।

बेलुका घर आयो फेरि त्यही काम । खाना पकाउने, भाँडा धुने, सरसफाइ गर्ने उनको दिनचर्या थियो ।

एक दिन खाना पकाउँदा पकाउँदै ग्यास सकियो । अनि आन्टीले नै उनलाई ग्यास लिन लगाइन् । सानै उमेरमा ग्यास सिलिन्डर बोकेर भान्सा कोठासम्म लगिन् ।

उनले ८ वर्षसम्म घरेलु श्रमिकका रूपमा त्यो घरमा बिताइन् । ८ वर्षमा भोगेको शारीरिक तथा मानसिक पीडा व्यक्त गर्ने शब्द नै छैन उनमा ।
उनलाई घरमा आफ्ना आमाबुवाले पिटेको, गाली गरेको सम्झना नै छैन । तर काठमाडौँमा बस्दा दिनहुँ पिटाइ खाने, गाली त शब्द शब्दमा उनले सुन्नुपर्थ्यो । तर पनि उनी त्यही घरमा बस्न र काम गर्न बाध्य थिइन् ।

‘सानो काम बिग्रियो भने पनि कुटाइ खानुपर्थ्यो । उनीहरू बिहान ढिलासम्म सुतिरहेका हुन्थे । म ४–५ बजेतिर नै उठेर सरसफाइ गर्ने, भाँडा धुने, खाना पकाउने गर्थे’ उनले भनिन् ।

उनीसँगै त्यो घरका ससाना छोराछोरी भने आफ्नो बाल्यकालको भरपुर मनोरञ्जन लिइरहेका हुन्थे । तर उनको भने सानैमा काँधमा ठुलो भारी बोकाइएको थियो ।

उनले ८ वर्षसम्म घरेलु श्रमिकका रूपमा त्यो घरमा बिताइन् । ८ वर्षमा भोगेको शारीरिक तथा मानसिक पीडा व्यक्त गर्ने शब्द नै छैन उनमा ।

उनीसँगैका साथीभाइहरू दिउँसो टिफिन टाइममा नास्ता खान्थे । तर उनी बिहान ४ बजे घरबाटै खाएर बेलुका घरमै खान आउँथिन् ।

‘कापी, पेन किन्नलाई १० रुपैयाँ माग्दा त, किन चाहियो ? के गर्ने हो ? भनेर खुबै सोध्नुहुन्थ्यो । खाजा खाने पैसा कताबाट दिनु ? केही किनेर ल्यायो भने बचेको पैसाको एक, एक हिसाब दिनुपर्थ्यो,’ उनले भनिन् ।

‘८ वर्षसम्म अर्काको घरमा बसेर काम गर्दा एक पैसा पनि उनले पाइनन् । खान बस्न त राम्रोसँग दिएको भए त्यसैमा चित्त बुझाउन हुन्थ्यो । थप पैसा दिने कुरा त धेरै टाढाको भयो । मेरा लागि त्यो ८ वर्ष कालकोठरी जस्तै थियो,’ उनले भनिन् ।

त्यहाँबाट घर फर्किन पनि उनले अनेकौँ प्रयास नगरेको भने होइन । तर घरपरिवारमा आर्थिक अवस्था अत्यन्तै कमजोर, त्यसपछि घरपरिवारबाट पढाउन नसक्ने बताएपछि उनी दुःख सहेरै भए पनि बस्न बाध्य भइन् । कक्षा ४ मा पढ्दादेखि त्यो घरमा बसेकी उनले गत वर्ष एसईई दिइन् । एसईईमा पास भएर उनी यतिबेला कोटेश्वरको एक विद्यालयमा कक्षामा ११ मा कानुन विषय लिएर पढिरहेकी छन् ।

गत असोजबाट उनले त्यो घर छोडिन् । यतिबेला काँडाघारीमा आफ्नै दिदी भिनाजुसँगै बसेर पढिरहेकी छन् । कक्षा ११ मा पढ्दा लाग्ने केही खर्च उनको दिदीले नै तिरिदिएकी छन् ।

‘जुन दिन उनी त्यो घरबाट दिदीसँग गइन् । त्यो बेला उनलाई पिँजडामा थुनिएको पन्छी स्वतन्त्र भए जस्तै भयो । त्यो बेला त यति खुसी भएँ कि शब्दमा बयान गर्न सक्दिनँ । वर्षौँसम्म पिँजडामा थुनिएको पन्छी खुला छोडिदियो भने कस्तो फिल गर्छ होला ? हो मलाई पनि त्यस्तै भएको थियो,’ त्यो क्षण सम्झिँदै उनले भनिन् ।

अहिले स्वतन्त्र भएर हिँडडुल गर्न पाएकी छन् । दिदीभिनाजुबाट उनले आमाबुवाले झैँ अपार माया पाएकी छन् । अहिले स्वतन्त्र भएर घरपरिवारको मायाका साथ आफ्नो भविष्य निर्माण गर्न तल्लीन छन् । हाल १७ वर्षकी उनलाई विगतको पीडाले बेलाबेला झकझक्याउँछ । उनी एक्लै टोलाउन पुग्छिन् । कतिकति बेला झसङ्ग हुन्छिन्, डराउँछिन् ।

उनी भन्छिन्, ‘मैले भोगेको दुःखपीडा म जस्ता बालबालिकाले भोग्नु नपरोस् भनेर म कानुन पढिरहेकी छु । कानुन पढेर अन्यायमा परेकाहरूलाई न्याय दिलाउन लाग्छु । समाज सेवा गरेर नाम कमाउने मेरो धोको छ ।’