Logo

बागमती पेज

पुस १९, २०८० बिहीबार

एक महिनापछि स्वीकृत भयो हरिबोलको राजीनामा, यस्तो छ कारण


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

गत मंसिर २० गते गजुरेलले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए । उनले नीतिगत विषयलाई उठाएर आफूले राजीनामा दिएको बताउँदै आएका छन् ।

राजीनामापछि उनले भने, ‘मैले नीतिगत कुरालाई लिएर राजीनामा दिएको हुँ । व्यक्तिगत असन्तुष्टि र अर्को कुनै लाभ प्राप्त गर्नको लागि राजीनामा दिएको होइन । नीतिगत कुरा के हो भन्ने मैले भनेको छैन । राजीनामा पत्रमा लेखेको छु । स्वीकृत भइसकेपछि आइहाल्छ ।’

तर, प्रचण्डसँग नेता गजुरेलको चित्त दुखाई यो पहिलो पटक भने होइन । सिन्धुली २ मा राजन दाहाललाई टिकट दिएपछि उनी सन्तुष्ट थिएनन् । त्यही बेलामा प्रचण्डले गजुरेललाई उचित व्यवस्थापन गर्ने बचन दिइएको थिए । त्यही बचन पूरा गर्न प्रचण्डले आफू प्रधानमन्त्री भएपछि मुख्य राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए ।

त्यसअघि तत्कालीन नेकपामा ओली प्रचण्डको टकराब परेको बेलामा गजुरेलसँग सम्बन्धमा बिग्रिएको थियो । त्यसबेला पनि गजुरेल ओलीतिर ढल्किएका थिए । तर, अन्तिम समयमा पार्टी नै अलग हुने परिस्थिति बनेपछि प्रचण्डको कित्तामा उभिएका थिए ।