Logo

मेघनाथ पहाडी

पुस २१, २०८० शनिबार

पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयविरुद्ध पुर्वपदाधिकारीहरुको आपत्ति


काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान(न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।
प्रतिष्ठानका पूर्वपदाधिकारीहरुले शनिबार पत्रकार सम्मेलन गर्दै यसलाई तत्काल रोक्न समेत सरकारको ध्यानाकर्षण गराए ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई कार्यान्वयन गर्न संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीपरिषद्मा पठाएकोप्रति पदाधिकारीहरुले आपत्ति जनाएका हुन् । उनीहरुले दुई निकायलाई समायोजनको विषयमा सम्बन्धित सरकारवालाहरुसँग छलफल नै नगरि मन्त्रालयले प्रक्रिया अगाडी बढाएको भन्दै उनीहले आपक्ति जनाएका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले प्रतिष्ठानको महत्व प्रकाश पार्दै ट्रेकिङ गाइड, हिमालसम्बन्धि प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा महत्वपूर्ण भुमिका रहेको बताईन् । प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गुर्नपर्नेमा ठाँउमा खारेज गर्न खोजेर गैरजिम्मेवार पन देखाएको उनको भनाई छ । शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समयसापक्ष बनाउँदै लैजानुपर्नेमा न्याथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धी समाप्त पार्न खोजेको शेर्पाले दाबी गरिन् । उनले न्याथमले हस्टिालिटी र प्रतिष्ठानले पर्वतीय शिक्षा, प्रशिक्षण र अनुसन्धानमा जोड दिँदै आएको भन्दै दुबै निकायको भुमिका फरक रहेको स्पष्ट पारिन् । जस कारण दुई निकायलाई एकआपसमा गाभ्न नहुने शेर्पाको तर्क छ ।

नेपाल पर्वत आरोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेका बताए ।
पर्वतीय शिक्षण प्रतिष्ठानले दक्ष जनशक्तिको उत्पादन गरेर नेपालका हिमालहरुलाई विश्वमा चिनाउँदै आएको बताउँदै थप सशक्त बनाउन सरकारलाई आग्रह गरे ।

यस्तै, छिरिङ जाङबु शेर्पाले पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरु पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनु पर्नेमा राज्यले नै निष्कृय पार्न लागि परेको भन्दै आपत्ति जनाए ।

उनले नेपालको हिमालका बारेमा विदेशमा गएर शिक्षा लिनुपर्ने अवस्था आउन नदिन शिक्षण प्रतिष्ठानलाई विश्वविध्यालयको रुपमा अगाडी बनाउन समेत सरकालाई आग्रह गरे ।

प्रतिष्ठानका पुर्वअध्यक्ष सन्तोष थापा मगरले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई सरकारले व्यवस्था गरेको बताए ।

साथै, प्रतिष्ठानका गुडविल एम्बेष्डर सञ्जय खतिवडाले सरकारले समायोजन तयारी फिर्ता नलिए हिमाली पर्यटनमा आधारित व्यवसायी, मजदुर र विध्यार्थीहरु आन्दोलनमा उत्रिने चेतावनी दिए ।