काठमाडौँ। नेपाल स्काउटको निर्वाचन कार्यतालिका अनुसार कोशी प्रदेशका १३७ वटा स्थानीय तहहरू मध्ये ४६ वटा तहको स्थानीय परिषद्को निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन हुन योग्य ४७ स्थानीय तहहरू मध्ये ४६ वटाको निर्वाचन सम्पन्न भएको नेपाल स्काउट प्रदेश समितिले जनाएको छ । तेह्रथुमको फेदाप गाउँपालिकामा निर्वाचनका लागि मनोनयन दर्ता नभएका कारण त्यहाँ स्थानीय परिषद् चयन हुन बाँकी रहेको जनाइएको छ ।
निर्वाचन हुन बाँकी रहेका स्थानीय तहहरूमा भने स्थानीय परिषद्को तदर्थ समिति गठन गर्दै स्काउटलाई प्रदेशभरी र्पुयाउने लक्ष्य राखिएको नेपाल स्काउट कोशी प्रदेश समितिका संयोजक रवि खनालले जानकारी दिनुभयो ।
४७ वटा पालिकाको स्थानीय परिषद्को निर्वाचनका लागि विराटनगर, बिर्तामोड, धरान, संखुवासभाको मकालु गाउँपालिका र खाँदवारी नगरपालिकामा केन्द्र तोकिएको थियो । जसमध्ये इटहरी र धरान उपमहानगरपालिका, विर्तामोड र शिवसताक्षी नगरपालिकामा भने स्थानीय परिषद् चयनका लागि निर्वाचन नै भएको हो ।
सोमबार विराटनगर निर्वाचन केन्द्र रहेका स्थानीय तहका स्थानीय परिषद् सदस्यहरूलाई एक समारोहबीच माला र टीका लगाएर निर्वाचित भएको घोषणा गरिएको हो । विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, ग्रामथान गाउँपालिका, बर्जु गाउँपालिका लगायतका स्थानीय तहमा निर्वाचित भएका परिषद् सदस्यहरूलाई निर्वाचन समिति अधिकृत अधिवक्ता महेन्द्रप्रसाद वस्तीले प्रमाणपत्र प्रदान गर्नुभएको छ । विराटनगर महानगरपालिकामा ९ महिला र ९ पुरूष गरी १८ जना परिषद् सदस्य चयन भएका छन् । उनीहरूलाई निर्वाचन अधिकृत वस्तीले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
स्थानीय परिषद् सदस्यहरू मध्येबाट सम्बन्धित स्थानीय तहको प्रमुखले एकजना स्थानीय आयुक्त तोकेपछि परिषद्ले पूर्णता पाउने जनाइएको छ । तोकिएको आयुक्तले आफ्नो कार्यसमिति चयन गर्ने स्काउटको नियम रहेको छ । स्थानीय परिषद्को कार्यकाल ४ बर्षको रहेको छ ।
विराटनगर महानगरपालिका स्थानीय परिषद्मा पुरूषतर्फ नवीन पहाडी, प्रह्लाद राजवंशी, राजकुमार देव, निश्चल श्रेष्ठ, भोजराज खनाल, मुकुन्दराज ढकाल, चन्द्रमोहन यादव, राजनारायण चौधरी र तुलसी घिमिरे चयन भएका छन् । त्यसैगरी महिलातर्फ विदिशा भट्टराई, पुष्पा तुलाधर, दीपशिखा ढकाल, सावित्रा निरौला, रमाकुमारी आचार्य रिजाल, खुश्बु घिमिरे रिजाल, कविता बराल, मनमाया रिजाल र शोभाकुमारी धमला चयन भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाल स्काउटमा कोशी प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचनका लागि कुल ५ सय ४५ मतदाता रहेको प्रदेश संयोजक खनालले बताउनुभयो । उहाँले कोशी प्रदेशमा मात्रै २० हजार बढी स्काउट सदस्य रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्