Logo

मेघनाथ पहाडी

चैत्र ४, २०८० आईतबार

जुगल नवगुरुकुलमा रजत महोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको जुगल नवगुरुकुल विद्यालयमा रजत महोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । विद्यालयले शनिवार उक्त कार्यक्रम विद्यालयको प्राङ्गणमा सम्पन्न गरेको हो ।

विद्यालय सञ्चालक समिति अध्यक्ष डोर प्रसाद आचार्यको अध्यक्षतामा भएको रजत जयन्तीको अवसरमा विद्यालयले “जुगल दर्पण” स्मारिका समेत लोकार्पण गरिएको थियो । उक्त समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले शिक्षा क्षेत्रबाट मात्रै हाम्रो समाज परिवर्तन गर्न सकिने बताए । उनले भने, शिक्षा विना मानिसले केही काम सही ढङ्गले गर्न सकिदैंन, त्यस कारण विद्यालयमा ध्यान दिएर पढाउन आवश्यक रहेको बताए ।

आजको युगमा सिपमूलक र व्यवहारिक शिक्षामा ध्यान दिनुपर्ने नगरप्रमुख अधिकारीको भनाई थियो । उनले भने, गरिखाने र सीपमूलक शिक्षा प्रदान गरे वैदेशिक रोजगारीमा जाने नेपाली भोलीका दिनबाट घट्छन्, त्यस कारण हामीले त्यता तर्फ ध्यान दिनुपर्छ ।

नेपाल बार एसोसिएसनका सचिव प्रा.डा. राम प्रसाद ज्ञवालीले जुगलले सिकाएको संस्कार सहितको शिक्षा राम्रो लागेको भन्दै अन्य विद्यालयले पनि यस्ता कुराहरू ध्यान दिनुपर्ने बताए ।

जुगलमा अन्य विद्यालय भन्दा फरक र संस्कार सहितको गुणस्तरीय शिक्षा थोरै शुल्कमा प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक रूपक लामिछानेले बताए । भौतिक संरचनाले मात्र विद्यालयको पढाई सुधार नुहुने भन्दै विद्यार्थीको मनोविज्ञान बुझेर त्यस किसिमको शिक्षा दिनुपर्ने उनको भनाई थियो ।

विद्यालयले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, ज्येष्ठ नागरिक, पत्रकार, तथा विभिन्न खेलाडीहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरेको थियो ।