Logo

मेघनाथ पहाडी

चैत्र २७, २०८० मंगलबार

काठमाडौँ विद्यालयको रजत जयन्ती तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित कपनमा रहेको ‘काठमाडौँ विद्यालय’को रजत जयन्ती (२५ औँ वार्षिकोत्सव) तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

विद्यालय सञ्चालक समितिका जयराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, नगर शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह तथा नेसनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपानेको  आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

नगर प्रमुख अधिकारीले मानव जीवनमा शिक्षा बिना कुनै कुरा सफल नहुने भन्दै विद्यार्थीलाई राम्रोसँग अध्ययन गरे मात्र कुनै पनि क्षेत्रमा सहज र सफल हुने भन्दै राम्रोसँग अध्ययन गर्न अनुरोध गरेका थिए ।

‘एस.इ.इ’ ब्याच २०७९ र २०८० मा संलग्न विद्यार्थीहरूलाई समेत सम्मान प्रदान गरिएको कार्यक्रममा  ‘एस.इ.इ’ ब्याच २०८० लाई सफलताको शुभकामना प्रदान गरिएको थियो भने विद्यार्थीहरूद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत गरिएको विद्यालयका प्रधानाध्यापक सुस्मिता मैनालीले जनाएकी छन् ।

विद्यालयका प्रधानाध्यापक सुस्मिता मैनालीले काठमाडौँ विद्यालयले साधारण शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन् । पढाइमा मात्र नभएर विद्यालयले विभिन्न विद्यामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको समेत जनाइन् ।

विद्यालयकी प्रधानाध्यापक सुस्मिता मैनालीद्वारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा प्रमीला केसीले समापन मन्तव्य राखेकी थिइन् ।