Logo

बागमती पेज

बैशाख १०, २०८१ सोमबार

डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको सडक निर्माण अघि बढ्ने तयारीमा


काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।

बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो । स्थानीयस्तरमा सरोकारवालाबीच भएको बैठकले तत्कालै मुद्दा फिर्ता लिने सहमति भएपछि निर्माणलाई निरन्तरता दिइने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवाला एवं मुद्दा हाल्ने स्थानीयबिचको आइतबारको बैठकमा उक्त सहमति भएको हो ।

यस्तै उक्त बैठकले हाल निर्माणाधीन कल्भर्टको पानीलाई व्यक्तिगत जग्गामार्फत निकास नगराई सडक सीमाभित्र छुट्टै ड्रेनमार्फत चण्डेश्वरी खोलामा निकासी गराउने तथा आवश्यकताअनुसार सिँचाइ निकासका लागि व्यवस्थापन गरी अघि बढ्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अदालतको मुद्दा फिर्ता लिने र निर्माणाधीन कल्भर्टबाट पानीलाई ‘डाइभर्ट’ गरी खोलामा मिसाउने सहमति भएपछि आयोजनाको निर्माणले निकास पाएको बताए ।

बनेपा नगरपालिका–६ बुडोलका १३ जनाले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाई गत फागुन २० गते रिट दर्ता गरेका थिए । दर्ता गरिएको रिटमा गत फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो ।

विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्युमपाइपसहितको ढलको स्थानमा हाल सडक विस्तारका क्रममा नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो । हाल बस्ती विकास भए पनि उक्त कल्भर्टबाट पानी निकास हुँदा सडकको तल्लो क्षेत्रको बस्तीमा क्षति पुग्ने भन्दै स्थानीयले रिट दर्ता गरेका थिए । उक्त क्षेत्रको निर्माण कार्य रोकिँदा ‘डाइभर्ट’ गरिएको सडकमा दुर्घटनासमेत बढेका थिए भने पानी परेका बेला राजमार्गमा सवारीसाधन ठप्प हुने गरेको छ ।

तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव ४ किमी सडकखण्ड रु चार अर्ब पाँच करोड ६४ लाखको लागतमा निर्माण थालिएको थियो ।