Logo

बागमती पेज

श्रावण २३, २०८१ बुधबार

१५ दिनको अन्तरालमा दुई हवाई दुर्घटना, २३ जनाले ज्यान गुमाए


काठमाडौँ । साउन महिनामै १५ दिनको अन्तरालमा दुई हवाई दुर्घटना भएका छन् । साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिन नवित्दै फेरी अर्को हवाई दुर्घटना भएको हो ।  बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।

हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाको यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यसअघि यही साउन ९गते काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जुन दुर्घटनामा १८ जनाको मृत्यु हुन पुगेको थियो । योसँगै १५ दिनमा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।

आजको हेली दुर्घटनामा मृत्युवरण गर्न पुगेका चार नागरिक चिनियाँ रहेका छन् भने पाइलट भने अरण मल्ल रहेका छन् । हाल उनिहरु सबैको शव संकलन गर्ने कार्य भइरहेको छ ।