Logo

बागमती पेज

श्रावण ३१, २०८१ बिहीबार

सिन्धुली बोलेरो दुर्घटना : तिन जनाको मृत्यु


काठमाडौँ । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत कमलामाई नगरपालिका-२ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परी थप एकको मृत्यु भएको छ ।

सिन्धुली अस्पतालमा उपचारका क्रममा दुर्घटनामा घाइते भएका पवन मंसाग्री मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

गोलन्जोर गाउँपालिका-६ का पृथ्वी भुजेल र उदय मंसाग्री मगरको घटनास्थलमै मृत्यु भएको थियो । उदय वडा नं ६ कै वडा सदस्य हुन् ।

गोलन्जोर गाउँपालिकाको ६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्याह्न ओसारपसार गर्ने डबल क्याव वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परी घाइतेमध्ये चालक टिकाजंग राई र यात्रु हिमाल परियारलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार पश्चात धुलिखेल पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।