Logo

बागमती पेज

श्रावण ३२, २०८१ शुक्रबार

ट्यांकरको ठक्करले मोटरसाइकल सवार दुई जनाको मृत्यु


काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिका-१० बदगामास्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार भएको दुर्घटनामा मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको छ।

नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको डिजेल बोकेको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा सुनसरीको हरिनगर गाउँपालिका–३ गौतमपुरका ४१ वर्षीय महेश कुमार मेहता र सोही ठाउँका ४२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार कञ्चनरुपबाट भारदहतर्फ जाँदै गरेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महेशको घटनास्थलमै र जयप्रकाशको उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते जयप्रकाशको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पतालमा उपचारपश्चात गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्यांकर चालक सिरहाको कर्जना नगरपालिका–३ का ३२ वर्षीय मिथलेश यादव समेत घाइते भएका छन्।

उनको कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त मोटरसाइकल र ट्यांकर इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीको नियन्त्रणमा राखिएको छ।