Logo

बागमती पेज

भाद्र २७, २०८१ बिहीबार

आठ महिनामा आठ हजारभन्दा बढीमा डेंगु


काठमाडौँ । आठ महिनायता देशभर आठ हजार १५९ जनामा डेंगु संक्रमण देखिएको छ । हालसम्म पाँचजनाको मृत्यु भएको डेंगु संक्रमण हाल ७५ जिल्लामा फैलिइसकेको छ ।

पछिल्लो दुई महिनामा देशभर तीव्र रूपमा संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो वर्षको तुलनामा संक्रमण निकै कम भए पनि विभिन्न जिल्लामा अझै उच्चदरमा फैलिइरहेको हो ।

सबैभन्दा बढी संक्रमण देखिने अगस्टमा मात्रै अघिल्लो वर्ष १४ हजारभन्दा बढी प्रभावित थिए । यस वर्ष चार हजार २२६ जनामा संक्रमण देखिएको छ, जुन यस वर्षभरिमा सबैभन्दा धेरै हो । सेप्टेम्बर लागेयता एक हजार ३१३ जनामा संक्रमण देखिएको छ ।

डेंगुबाट सबैभन्दा धेरै गण्डकी र बागमती प्रदेशका जिल्ला प्रभावित भएका छन् । हालसम्म गण्डकीमा तीन हजार ८६३ र बागमतीमा दुई हजार ७४ जनामा संक्रमण देखिएको छ । कोशीमा ९४४, मधेशमा १४०, लुम्बिनीमा ५५६, कर्णालीमा ११८ र सुदूरपश्चिममा ४६४ जनामा संक्रमण भएको छ ।

यसबाहेक डेंगुबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा तनहुँ, कास्की, पर्वत, काठमाडौं र चितवन छन् । यी जिल्लामा पाँच सयभन्दा बढीमा डेंगु संक्रमण देखिएको छ ।